२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

अब ठूलो पर्दामा ‘हरिबहादुर’

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । नेपाली हास्य क्षेत्रका सम्मानित व्यक्तित्व हरिवंश आचार्यले भूमिका निर्वाह गरेको चर्चित पात्र ‘हरिबहादुर’ पुनः दर्शकमाझ आउने भएको छ । उनले टेलिशृङ्खला र रङ्गमञ्चमा निर्वाह गरेको उक्त पात्रले समाजका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै दर्शकको मन जितेको थियो । यो पात्र धेरैका लागि बाल्यकालको अभिन्न हिस्सा बनेको छ । लामो समयदेखि सानो पर्दा र रङ्गमञ्चमा हराइरहेका ‘हरिबहादुर’ नामक पात्रलाई अब दर्शकले ठूलो पर्दा अर्थात् चलचित्रमा देख्न पाउनेछन् ।

गएको वैशाखमा प्रदर्शन भएको चलचित्र ‘भूठान’ मा गम्भीर पात्रमा देखिएका अभिनेता आचार्यले आगामी चलचित्र ‘हरिबहादुरको जुत्ता’ मार्फत दर्शकलाई हँसाउन र मनोरञ्जन प्रदान गर्न ‘हरिबहादुर’ बनेर प्रस्तुत भएका छन्। चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै उनले समसामयिक विषयमा रमाइलो चलचित्र तयार भएको बताए । आचार्यले भने, “भूठान चलचित्रमा काम गरेपछि त्यस्तै किसिमको भूमिका मात्र गर्छ कि भन्ने पनि रहेछ, तर म सबै किसिमको पात्रमा काम गर्न चाहन्छु । ‘हरिबहादुरको जुत्ता’ मा मलाई रमाइलो पात्र निर्वाह गर्दै गरेको देख्न सक्नुहुनेछ ।”

अभिनेता आचार्यले नै पटकथा तथा संवाद लेख्नुभएको चलचित्रको ‘कन्सेप्ट’ का विषयमा चर्चा भएपछि चलचित्रको स्वरूप लिएको रहेछ । “मैले सरोज भाइ (गायक सरोज ओली) लाई चलचित्रको विषय सुनाएको थिएँ, उहाँ नै निर्माणमा अग्रसर भएपछि चलचित्र तयार भएको छ । यसले पर्दामा देखिने पात्रसँग दर्शकलाई जोड्छ भन्नेमा विश्वत छु”, उनले भने ।

अभिनेता आचार्यले उक्त चलचित्र आउँदो दसैँलाई लक्षित गर्दै असोज १३ गते प्रदर्शन हुने जानकारी दिए।

निर्देशक दीपेन्द्रकुमार खनालको निर्देशनमा तयार भएको यस चलचित्रमा अभिनेता आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, सीता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारले अभिनय गरेका छन् ।

गायकद्वय सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको चलचित्रमा कृष्णबहादुर थापाले छायाङ्कन, नकुल खड्काले सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले सङगीत सिर्जना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट