काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले प्रतिपक्षसँग संवाद र छलफल नगरेकोमा चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेश गर्नुअघि विशेष सम्बोधन गर्दै सभामुख घिमिरेले लामो समयदेखि प्रतिपक्षी दलहरूले विरोध जनाउँदै आएको भएपनि आवश्यक संवाद र छलफल नभएको बताएका हुन्।
'सदन सुचारू गर्न सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकामा मलाई चिन्ता लागेको छ', उनले भने।
उनले संसद केवल असहमति अभिव्यक्त गर्ने स्थल मात्र नभएको बताउँदै भनेका छन्, ‘यसरी बैठक सुरू हुनासाथ असहमति प्रदर्शन गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीनरूपमा हानिकारक साबित हुनसक्छ । हामी भविष्यलाई के सन्देश दिइरहेका छौं भन्ने विषयमा सबै सचेत रहनु आवश्यक छ । संसद केवल असहमति अभिव्यक्त गर्ने स्थलमात्र होइन राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो ।’
उनले सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहेका दल तथा सबै सांसदहरुलाई संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपील गरे ।
प्रतिक्रिया दिनुहोस