काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा नेकपा माओबादी केन्द्रका नेता राजन दाहालले बिपी राजमार्गको ८.४ किमीको सुरूङमार्ग निर्माण कार्यको थालनी गर्न माग गरेका छन् ।
शनिबार सांसद दाहालले ७२ जना सांसदहरूको हस्ताक्षरसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसमक्ष उक्त माग राखेका हुन् ।
दैनिक हजारौँ यातायातका साधनहरू आवतजावत गर्ने बिपी राजमार्गको चियावारी खुर्कोट ३८ किमी सडक खण्ड घुमाउरो र साँगुरो भएको कारण दैनिक दुर्घटना र अकल्पनीय जनधनको क्षति व्यहोर्नु परिरहेको दाहालले बताएका छन् ।
त्यस्तै, ठूला मालवाहक गाडीहरू चल्न नपाउने सरकारी निर्णयका कारण चर्को महङ्गी पनि छिमेकी जिल्लाका जनतामा थोपरिएको उनको भनाई छ ।
उनले भनेका छन्, ‘समय र पूँजीको बचत गर्ने, मानवीय क्षति र महङ्गी नियन्त्रण गर्ने एक मात्र उपाय ८.४ किमीको सुरूङ मार्ग हो भन्ने वस्तुगत सच्चाइलाई आत्मसात् गरेर मेरो निरन्तर पहलमा तत्कालीन कामरेड प्रचण्ड नेतृत्व सरकारले विस्तृत परियोजना प्रतिवेदन तयार गर्नको लागि बजेट बिनियोजन गरे पनि वर्तमान सरकारले कार्यान्वयनमा ल्याएन ।’
सामूहिक हस्ताक्षर सहितको मागले अर्थमन्त्रीले पनि योजना छनोट, बजेट विनियोजन र कार्यान्वयनमा सहयोग पुग्ने प्रतिक्रियाले यो आयोजना कार्यान्वयनमा जाने विस्वास रहेको सांसद दाहालले बताएका छन् ।
उनले भनेका छन्, ‘यो आर्थिक वर्ष डिपिआर गरी लगानी जुटाएर निर्माण कार्यको थालनी गर्नको लागि मेरो पहलमा हामी तपसिलका ७२ जना माननीय साँसदहरूले हस्ताक्षर गरी माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल मार्फत नेपाल सरकार समक्ष पेश गरेका छौँ । माननीय अर्थमन्त्री ज्यूले पनि सामूहिक हस्ताक्षर सहितको मागले योजना छनोट, बजेट विनियोजन र कार्यान्वयनमा सहयोग पुग्ने प्रतिक्रियाले यो आयोजना कार्यान्वयनमा जाने विस्वास लिएका छौँ ।’



प्रतिक्रिया दिनुहोस