काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा उम्मेदवार बनाएका न्युरोचिकित्सक डा. लेखजंग थापाले आफ्नो व्यक्तिगत जीवनलाई लिएर आएका प्रश्नहरूको सार्वजनिक जवाफ दिएका छन्। थापाले फेसबुकमार्फत लेखेका स्टाटसमा आफ्नो निजी जीवनमाथि उठेका प्रश्नहरूको सामना गर्नुपरेको उल्लेख गरेका छन्।
उनले आफ्नो पारिवारिक जीवन न गैरकानुनी भएको न समस्याग्रस्त रहेको दाबी गर्दै, “यो आक्रमण मेरो निजी जीवनमाथि होइन, राष्ट्रिय स्वतन्त्र पार्टी र परिवर्तनकारी राजनीति माथि भएको सुनियोजित प्रहार हो” भनेका छन्।
थापाले जीवनमा दुई पटक विवाह भएको, एक सम्बन्ध अन्त्य भएपनि त्यसबाट भएको सन्तानप्रति आफू जिम्मेवार बाबु भएको स्पष्ट पारेका छन्। उनले भने, “सम्बन्धविच्छेद भएपनि मेरो सन्तानको भविष्य सुरक्षित बनाउन आमासँग मिलेर साझा अभिभावकत्व दिनु मेरो कर्तव्य हो। त्यसमा मलाई ग्लानी छैन।”
१४ वर्षदेखि न्युरोचिकित्सकको रुपमा पेशागत यात्रा तय गरेका थापाले हजारौँ बालबालिकाको मानसिक अवस्थामाथि पारिवारिक असन्तुलनले गर्ने असर नजिकबाट बुझेको बताए। “बच्चाको जीवनमा सम्बन्धविच्छेदको नकारात्मक असर पर्न नदिने संकल्पमा छु,” उनले भने।
राजनीतिमा आफ्नो प्रवेश पेशागत सफलताप्रति सन्तुष्टि भएपनि देशमा बढ्दो विकृति र विसङ्गतिप्रति असन्तुष्टि भएकै कारण भएको उनको भनाइ छ। उनले आफू नेता बन्न नभई देश बदल्ने सहयात्री बन्न आएको दोहोर्याएका छन्।
रुपन्देही–३ बाट उम्मेदवार चयन प्रक्रियामा ३५ दिन लामो बहुआयामिक विधिबाट आफू छानिएको बताउँदै उनले भने, “मेरो व्यक्तिगत कारणले पार्टीमाथि दाग नलागोस् भन्ने चाहन्छु। पार्टीले गर्ने कुनै निर्णयलाई सहर्ष स्वीकार गर्नेछु।”
थापाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत हैसियतभन्दा फराकिलो अभियानको रुपमा चित्रण गर्दै, “रुपन्देही–३ को उम्मेदवार म मात्र होइन, परिवर्तन चाहने प्रत्येक नेपाली हो” भन्दै उम्मेदवार नभए पनि देश सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि तयार भएको टिप्पणी गरेका छन्।


प्रतिक्रिया दिनुहोस