२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि सबै जना सहमत छन् : महासचिव पोखरेल

बुधवार , भाद्र १८, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि कसैको पनि असहमति नरहेको स्पष्ट पारेका छन् ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज एमाले प्रचार विभागद्वारा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनमा राजनीतिक, साङ्गठनिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिने उल्लेख गर्दै पार्टीभित्र कसैको पनि असहमति नरहेको उनले बताए ।

महासचिव पोखरेलले पार्टीका दुई उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले केन्द्रीय कमिटीको नवौँ बैठकको निर्णयमा असहमति जनाए पनि उनीहरूको वैचारिक असहमति नरहेको स्पष्ट पारे ।

महासचिव पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा फर्कन हुनुहुँदैन भन्ने पार्टीको नवौँ केन्द्रीय कमिटीले गरेको निर्णयमाथि उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीले फरक मत राखेको जानकारी दिए ।

“उहाँहरूले पार्टीको नवौँ केन्द्रीय कमिटीले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्कन हुँदैन र उहाँको सदस्यता नवीकरण गर्ने अस्वीकार गर्नुपर्दछ भन्ने निर्णय माथि असहमति राख्नुभएको छ”, महासचिव पोखरेलले भने, “कसलाई सदस्यता दिने र नदिने भन्ने विषय दस्तावेजको विषय होइन । त्यसकारण उहाँहरूको दस्तावेजमा फरक मत होइन । निर्णयमाथिको फरक मत हो । निर्णयमाथिको फरक मतको बिषय विधान महाधिवेशनले छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनले गर्ने भन्ने कुरा सचिवालय बैठकले निरूपण गर्ला ।”

महासचिव पोखरेलले दस्तावेजमाथि फरकमत राखेको अवस्थामा सम्बन्धित महाधिवेशनमा छलफल गर्ने पार्टीको वैधानिक व्यवस्था रहेको बताए । “फरकमत आयो भने वैधानिक व्यवस्थाअनुसार छलफल हुन्छ । अहिले निर्णयमाथिको असहमति रहेकाले विचारमाथिको असहमति होइन”, उनले भने, “विधान महाधिवेशनमा दस्तावेजमाथि छलफल हुन्छ ।”

महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

एमालकोे विधान महाधिवेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट