काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारीमाथि बुधबार राति आक्रमण भएको छ।
भण्डारीलाई कपनस्थित घर नजिकै मोटरसाइकलमा आएका तीन जनाले रड प्रहार गरेको रास्वपा नेता प्रमोद न्यौपानेले जानकारी दिए। आक्रमणमा टाउकोमा गहिरो चोट लागी १० वटा टाँका लगाउनुपरेको छ। उनको सिटी स्क्यान रिपोर्ट सामान्य आएको छ तर थप फलोअपका लागि अस्पतालले बोलाएको छ।
घाइते भण्डारीलाई बुधबार राति नै चाबहिल चुच्चेपाटीस्थित स्तूपा सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो।
बौद्ध प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको र आक्रमणकारीहरूको पहिचान अझै खुल्न बाँकी रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस