काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलियाले बनाएको बताएका छन् ।
शनिबार पोखराको लेकसाइडमा नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले दलाल पुँजीवाद र बिचौलियावादको आलोचना गर्दै कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारबारे कडा टिप्पणी गरे । उनले बिचौलियाको धाक र धम्कीका कारण कांग्रेस–एमाले गठबन्धन सरकार बनेको दाबी गरे ।
कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले नबनेको उनले बताए । साथै, उनले कांग्रेस–एमालेभित्रका इमानदारहरूलाई यस्तो सरकारमा नबस्न सुझाव दिए ।
उनले क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेको बताउँदै आफूहरु त्यसको वैकल्पिक शक्ति भएको दाबी गरे ।
उनले नेपाल उद्योग व्यापार महासंघका पदाधिकारीहरू सक्षम, जिम्मेवार र देशको उद्योग–व्यापार विकासमा योगदान पुर्याउने समूह भएको उल्लेख गर्दै अझ अध्ययन र लगनशीलता जरुरी रहेको धारणा राखे ।
साथै, उनले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस