काठमाडौं । सामाजिक सञ्जाल बन्दबारे सरकारमा सहभागी मुख्य घटक कांग्रेसभित्र छलफल र बहस नभएकोमा कांग्रेस नेताहरुले नेतृत्वप्रति असन्तुष्टि जनाएका छन् ।
आइतबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेताहरूले नागरिकले अभिव्यक्त गर्ने सामाजिक सञ्जालमाथि सरकारले हस्तक्षेप गरेको र त्यो निर्णय गर्नुअघि छलफल समेत नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
मनाङ प्रदेश सभा क्षेत्रमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय प्रयोजनका लागि डाकिएको बैठकमा दल दर्ता गर्नेसम्बन्धी छलफल सकिएपछि महामन्त्री गगन थापाले सरकारमा सहभागी भएको पार्टीसँगै छलफल नगरेको भन्दै प्रश्न उठाए ।
महामन्त्री थापाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय कार्यसम्पादन समिति सदस्यले भने, ‘सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्छ, सरकारमा हाम्रो पार्टी पनि सहभागी छ। यस्तो विषयमा समयमै पार्टीभित्र कुनै छलफल र बहस किन गरिएन ? सरकारले झ्याम्म निर्णय गर्छ, अनि हामी पनि सरकारमै छौँ भनेर ती निर्णय बोक्दै हिँड्ने हो ? बचाउ गर्दै हिँड्नुपर्ने हो ?'
बैठकमा सहमहामन्त्री महेन्द्र यादव, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य बालकृष्ण खाणले पनि यसबारे कुरा राखेका थिए।
सरकारको निर्णयमा नेताहरुले विरोध जनाएपछि सभापति शेरबहादुर देउवाले एक/दुई दिनभित्रै छलफल गरी निचोडमा पुगिने बताएका छन्।
प्रतिक्रिया दिनुहोस