काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजीले उठाएको मागको तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । आन्दोलनमा थप क्षति हुन नदिन सरकारलाई जिम्मेवार बन्न उनले आग्रह गरेका हुन् ।
प्रचण्डले भनेका छन्, ‘जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस् । स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।’
मध्यपहाडी लोकमार्ग अभियानको क्रममा रहेका प्रचण्डले नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेकोमा पनि आपत्ति जनाएका छन् । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएको विषयमा वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन् ।
सोमबार देशव्यापी रुपमा भएको जेनजी पुस्ताको प्रदर्शनमा बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको निधन भएको छ भने उल्लेख्य संख्यामा युवाहरू घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस