काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्ली चुनावको माग गरेको छ । जेनजीको प्रदर्शनमा प्रहरीले दमन गरेपछि त्यसबारे निर्णय लिन बसेको रास्वपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
रास्वपाले वर्तमान सरकारको औचित्य समाप्त भएको भन्दै यो वर्तमान सरकार बर्खास्त गरी ताजा जनादेशमा जानुपर्ने बताएको हो ।
त्यस्तै, रास्वपाले घटनाको छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न पनि माग गरेको छ ।
रास्वपाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ, निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँः आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।’
जेनजीहरुले आज (सोमबार) भ्रष्टाचार, अव्यवस्था र सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध प्रदर्शन गरेका थिए । उक्त प्रदर्सनमा नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा प्रहरीको दमन हुँदा अहिलेसम्म १८ जना प्रदर्सनकारीको मृत्यु भईसकेको छ । त्यस्तै धेरै घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस