काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले एमालेसँगको सात बुँदे सहमतिको औचित्य समाप्त भएको बताएका छन् ।
उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय सहमतिका लागि मार्ग प्रशस्त गर्न पनि आग्रह गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, 'सरकार सहि ढंगले चलेन सच्चिनुपर्छ भनेर पार्टी बैठकमा, संसदमा र सार्वजनिक स्थलमा पटकपटक आग्रह गर्यो । तर न सरकार सच्चियो न प्रधानमन्त्रीको शैली१ अन्ततः प्रधानमन्त्रीकै व्यवहारका कारण नागरिक पंक्तिमा असन्तुष्टि थप बढ्दै गयो। सामाजिक संजाल खोल, भ्रष्टाचार नियन्त्रण गर, सुशासन कायम गर जस्ता न्यायोचित माग बोकेर सडकमा निक्लिएका जेनजी पुस्ता माथिको दमन निन्दनीय छ ।'
उनीहरूले भनेका छन्, 'तिनले कुनै कुर्सी मागेका थिएनन् । तर सरकारको अकर्मण्यताले होनहार युवाहरूले निर्मम मृत्यु वरण गर्नुपर्यो। ७ बुँदे समझदारीको औचित्य समाप्त भएको छ। सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता बोलाउन सभापतिज्युलाई भर्खरै आग्रह गरेका छौं। सभापतिज्युले अविलम्ब निर्णय गर्नुपर्छ, अन्यथा अन्य प्रक्रियाबाट निर्णय गरेर कदम चाल्न हामी बाध्य हुनेछौं।'
उनीहरुले जेनजी पुस्ताको माग पूरा गर्न जोड दिइरहेको बताउँदै अपिल गरेका छन्, ‘तपाईंहरुको न्यायोचित माग पूरा गर्न हामी जोड गरिरहेका छौं। आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन तपाईंहरुको सबल भूमिकाका लागि आग्रह गर्दछौँ।'
प्रतिक्रिया दिनुहोस