काठमाडौं । नेकपा एमालेले मुलुकको विषम परिस्थितिलाई ख्याल गर्दै संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै पहलकदमी खोजिनुपर्नेमा जोड दिएको छ । एमालेले नेतृत्वदायी पहलकदमी लिनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ ।
महासचिव शंकर पोखरेलले पार्टी सचिवालयको वक्तव्य जारी गर्दै संविधानका मर्म अनुरुप सार्थक संवाद सुरु गर्न पनि राष्ट्रपतिलाई आग्रह गरेको छ ।
“प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधानसम्मत रूपमा र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्छ भन्नेमा पार्टी स्पष्ट छ । सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनाजस्ता युवापुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ,” वक्तव्यमा भनिएको छ, “यसका लागि संविधानका मर्मअनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौँ ।”
जेनजीहरूको प्रदर्शनका क्रममा आगजनी, लुटपाट र तोडफोड जस्ता घटनाहरूमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको पनि एमालेले दाबी गरेको छ । यस्तो घटनाक्रममा संलग्नबारे यथार्थ छाबिन हुनुपर्ने र सत्यतथ्य बाहिर ल्याउनुपर्ने एमालेको माग छ ।
वक्तब्यमा आफूहरूको भूमिकाको पनि आवश्यक आत्मसमीक्षा गर्ने र आगामी कामहरूबारे औपचारिक निर्णय गरिने उल्लेख छ ।
‘स्थिति सामान्य हुनासाथ पार्टीको बैठक बसेर समग्र स्थितिको समीक्षा गरिने छ। हाम्रो भूमिकाको पनि आवश्यक आत्मसमीक्षा हुनेछ र आगामी कामहरूबारे औपचारिक निर्णय गरिने नै छ,’ महासचिव पोखरेलले जारी गरेको वक्तब्यमा उल्लेख छ ।
एमालेले विषम परिस्थितिमा संघीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका निम्ति रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस