काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु हटाएको छ । सेनाले शुक्रबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्र निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म भने पुनः कर्फ्यु लागू हुने सेनाले जारी गरेको सूचनामा उल्लेख छ । हिंसात्मक घटना नियन्त्रणका लागि लगाइएको कडा सुरक्षापछि सेनाले क्रमशः निषेधाज्ञा खुकुलो बनाउँदै लगेको हो ।
कर्फ्यु र निषेधाज्ञा आंशिक खुकुलो भएपछि उपत्यकामा जनजीवन सामान्य उन्मुख भएको छ । विगतको तुलनामा शुक्रबार बिहान सवारीसाधनको आवागमन पनि बढेको देखिएको छ ।
भदौ २३ गतेदेखि सुरु भएको जेनजी आन्दोलन हिंसात्मक बनेपछि २४ गते राति नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो । सुरुमा देशभर लागू गरिएको कर्फ्यु अहिले काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ भने केही जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत निषेधाज्ञा जारी छ ।
प्रतिक्रिया दिनुहोस