अमेरिका । गत मंगलबार मृत्युवरण गरेका टेक्ससका व्यवसायी हरिबोल भण्डारीको आइतबार दिउँसो ड्यालसस्थित ह्युगिज फेमिली ट्रिब्युट सेन्टरमा अन्त्येष्टी गरिएको छ।

नेपाली कांग्रेस महासमिति सदस्य तथा जनसम्पर्क समिति अमेरिका कार्यसमिति सदस्य समेत रहेका भण्डारी व्यवसायी मात्र नभई अमेरिकासहित विश्वभरका नेपालीलाई व्यवसायमा प्रोत्साहित गर्ने उद्यमीका रूपमा परिचित थिए।

आइतबार ड्यालसको ह्युगिज फेमिली ट्रिब्युट सेन्टर (शवदाह गृह) मा आयोजित श्रद्धाञ्जली तथा अन्तेष्टी समारोहमा उपस्थित ठूलो संख्याका नेपालीहरुले आँशुले भरिएका रसिला आँखाले भण्डारीलाई भावुक विदाई गरेका थिए ।

उनका जेठा छोरा उदयन भण्डारीले दागवत्ती दिएका थिए। सो अवसरमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समितिका महासचिव गौरीराज जोशी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटाले भण्डारीले समुदायका लागि पुर्याएको योगदानको स्मरण गर्दै उनको असामयिक निधनले ठूलो क्षति पुगेको बताइन्।

परिवारतर्फबाट उनका जेठा छोरा उदयन भण्डारी र भाई महावीर भण्डारीले दिवंगत भण्डारीले देखाएको बाटो र समुदायमा पुर्याएको योगदानको चर्चा गरेका थिए।भण्डारीको असामयिक र अस्वभाविक निधनले ड्यालसको नेपाली समुदाय स्तब्ध बनेको छ।




प्रतिक्रिया दिनुहोस