विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले हालको विषम परिस्थितिबाट अघि बढ्नु सकारात्मक रहेको बताएका छन् ।
नेकपा एमाले विराटनगर महानगर कमिटीले बिहीबार आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्रममा बोल्दै कार्कीले २४ गतेको आन्दोलन जेनजीको मात्रै नभई विभिन्न स्वार्थ समूहको आन्दोलन भएको टिप्पणी गरे ।
उनले नेपालको संविधान र सार्वभौमिकतामाथि आक्रमण भएको उल्लेख गरे । जेनजीको भ्रष्टाचारविरुद्ध मागलाई एमालेले पनि निरन्तर उठाइरहेको बताए । “पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनुपर्छ, आवश्यक परे अर्को नेतृत्व ल्याउन पनि तयार हुनुपर्छ,” उनले भने ।

कार्कीले एमाले सरकारमा रहँदा विकासका काम भएको बताए । कार्कीले प्राकृतिक सम्पदामाथि आक्रमण भइरहेको भन्दै स्वाधीन नेपाललाई परनिर्भर बन्न नदिन सबै सचेत हुनुपर्ने बताए । संविधान मास्ने प्रयासले देशलाई अस्थिर बनाउने खतरा बढेको बताउँदै उनले यसलाई जोगाउन लाग्नुपर्ने समेत बताए ।
महानगर कमिटीका अध्यक्ष बलराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गिरिले युवापुस्ताको मागलाई सम्बोधन गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिँदै नेतृत्वले समय सापेक्ष सच्चिनुपर्ने आवश्यकता औँल्याए । उनले पार्टीभित्रको संगठनात्मक कमजोरी सच्याएर समानताको आधारमा निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेलामा सहभागिहरुले पार्टीभित्र विधि र पद्धति बिर्सिने प्रवृत्ति देखिएको बताउँदै कसैले पनि गल्ती स्वीकार नगरेकोमा चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्य परशुराम बस्नेत, जिल्ला कमिटी सचिव सोमराज थापा लगायतले बोलेका थिए ।
प्रतिक्रिया दिनुहोस