काठमाडौ / बाराबाट काठमाडौँतर्फ ल्याइँदै गरेको ठूलो परिमाणको लागूऔषध ट्रामाडोल नियन्त्रणमा लिन प्रहरीलाई हवाई फायर गर्नुपरेको छ । ललितपुरको गैरीगाउँमा शनिबार प्रहरीले एक राउन्ड हवाई फायर गरेपछि रोकिएको कारबाट ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गर्दै तीन जनालाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनमा ललितपुरबाट ठूलो परिमाणमा ट्रामाडोल बरामद गरेको थियो ।
ब्यूरोका अनुसार बाराको सिम्रौनगढबाट काठमाडौँतर्फ लागूऔषध ल्याइँदै गरेको सूचनापछि प्रहरी टोली निगरानीमा खटिएको थियो। खोजतलासका क्रममा गैरीगाउँबाट नख्खुतर्फ जाँदै गरेको बागमती प्रदेशको बीएडी ९२०१ नम्बरको रातो कारलाई प्रहरीले रोक्न संकेत गरेको थियो ।
तर चालकले प्रहरीको संकेत बेवास्ता गर्दै कार तीव्र गतिमा अगाडि बढाएपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो । त्यसपछि कार रोकिएको र खानतलासी गर्दा डिक्कीभित्र लुकाएर राखिएको अवस्थामा ट्रामाडोलका ३० हजार क्याप्सुल बरामद भएको लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान तथा भारतको बिहार राज्यका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दामलाई पक्राउ गरिएको छ ।
प्रहरीले उनीहरूको साथबाट बा.५२ प.४५६७ नम्बरको सेतो मोटरसाइकल, पाँच थान मोबाइल फोन तथा लागूऔषध ओसारपसारमा प्रयोग भएको कारसमेत नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस