बुटवल / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहँदा सभापति पदको प्रतिस्पर्धा निकै रोचक बनेको छ ।
निर्वाचन समितिका अनुसार आइतबार बिहानसम्म ३ सय मत गणना सम्पन्न हुँदा सभापतिका उम्मेदवार शालिक घिमिरे १ सय १ मतसहित अग्रस्थानमा छन् । यद्यपि अन्य उम्मेदवारहरूसँगको मतान्तर धेरै नभएकाले अन्तिम नतिजाबारे अनुमान गर्न सकिने अवस्था छैन ।
हालसम्मको मतपरिणामअनुसार गोपाल घिमिरेले ५२, गणेश पौडेलले ५०, मञ्जु भुसालले ४४, राजकुमार सुवेदीले ४३ तथा मधुप्रसाद अर्यालले १० मत प्राप्त गरेका छन् ।
शनिबार राति सम्पन्न मतदानमा कुल ५ सय ४२ मत खसेको थियो । बाँकी मतको गणना जारी रहेकाले विजेताको टुंगो लाग्न अझ केही समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।
प्रतिनिधिहरूका अनुसार सभापति पदमा निर्वाचित हुन कुल खसेको मतमध्ये ५१ प्रतिशत मत आवश्यक पर्ने व्यवस्था रहेकाले कुनै उम्मेदवारले आवश्यक मत प्राप्त नगरे पुनः निर्वाचनको सम्भावना पनि रहेको छ।
प्रतिक्रिया दिनुहोस