काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई दिँदै दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन र सुरक्षित विश्व निर्माणमा नेपालसँग घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले नेपालको संविधान पालना गर्ने पारदर्शी सरकारप्रतिको जनचाहनालाई समर्थन गर्ने स्पष्ट पारे । साथै, नेपाली जनता आर्थिक वृद्धि, क्षेत्रीय सुरक्षा र समृद्ध भविष्यका हकदार रहेको उल्लेख गरे ।
रुबियोले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टमार्फत यातायात र ऊर्जा पूर्वाधार विस्तार, रोजगारी सिर्जना र दीर्घकालीन आर्थिक वृद्धिलाई गति दिने विश्वास व्यक्त गरे । यसले अमेरिका–नेपाल साझेदारी सबल हुने र अमेरिकी कम्पनीका लागि अवसर सिर्जना हुने उनको भनाइ छ ।
विदेशमन्त्री रुबियोले हालैको आन्दोलनमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस