काठमाडौं । जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले गरेको तोडफोड र आगलागीबाट ध्वस्त भएको ऊर्जा मन्त्रालय स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले निर्माण गर्ने भएको छ।
विहीवार साँझ मन्त्रालयमा मन्त्री कुलमान घिसिङसँग भएको भेटमा इप्पानका उपाध्यक्ष भरत खत्रीले उर्जा उत्पादकहरु मिलेर मन्त्रालयको मर्मत सम्भार, रंगरोगनलगायत पुर्ववत अवस्थामा लैजाने प्रस्ताव राखेका थिए । उपाध्यक्ष खत्रीले गरेको प्रस्तावलाई ऊर्जामन्त्री घिसिङले स्वीकृत गरेपछि अब ऊर्जा मन्त्रालय इपानको नेतृत्वमा पुनर्निर्माण हुने भएको हो।
उपाध्यक्ष खत्रीले मन्त्रालयलाई “ऊर्जा व्यवसायीहरूको मन्दिर” संज्ञा दिँदै यसलाई पुनःनिर्माण गर्ने जिम्मेवारी आफूहरूले लिनुपर्ने धारणा राखेपछि ऊर्जा व्यवसायीहरु पनि उत्साहित भएका थिए।
ऊर्जा मन्त्रालय केवल प्रशासनिक संरचना मात्र नभई, निजी क्षेत्रका सपना, लगानी र योजनाहरूको आधारभूमि भएको भन्ने खत्रीको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको थियो । मन्त्रालयको भौतिक क्षति अनुसार के कति पुनःनिर्माण गर्नुपर्ने वा रङ्ग रोगन तथा सरसफाई गर्नुपर्ने हो त्यसको शुरुवात शुक्रबारबाटै गरिने खत्रीले बताए ।
इतिहासविद् डा. सुरेन्द्र केसी भन्छन्, ‘अहिले जुन हिसाबले ऐतिहासिक धरोहरका रुपमा रहेका सरकारी संरचना ध्वस्त भएका छन् त्यो तत्काल पुनःनिर्माण गर्न सरकारी स्रोत र क्षमताले मात्र सम्भव छैन । अहिले नागरीक स्तरबाट प्रहरी चौकीहरुको मर्मत तथा पुनःनिर्माण शुरु भएको अवस्थामा इपानले नेतृत्व लिएर मन्त्रालय बनाउन अठोट गरेको छ, त्यो निकै नै सराहनीय छ।’ अब यसबाट पाठ सिक्दै अन्य निजी संघ संस्थाहरु पनि राष्ट्रनिर्माणमा लाग्नुपर्ने अवस्था आएको उनले बताए ।
ऊर्जा मन्त्री कुलमान घिसिङले देखाएको राष्ट्र निर्माणको भावना र त्यसमा उपाध्यक्ष भरत खत्रीले देखाएको उदार भावनाले संकटको अवस्थालाई अवसरमा बदल्दै मन्त्रालयलाई आधुनिक, सुरक्षित र व्यवसायमैत्री स्वरूपमा पुनःस्थापित गर्ने बाटो खुलिसकेको छ ।
यस घटनाले नेपालमा ऊर्जा विकास मात्र होइन, समग्र पूर्वाधार निर्माण र सार्वजनिक–निजी साझेदारीको अभ्यासलाई पनि नयाँ परिभाषा दिनेछ ।
प्रतिक्रिया दिनुहोस