२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सुहाङ नेम्वाङ लेख्छन् : 'मेरो भागमा परेका कमजोरी र नालायकीप्रति माफी चाहान्छु'

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले गल्तीहरु नेतृत्वमा बस्नेहरुबाटै हुने तर आत्मालोचना र स्वीकारोक्ति जरुरी रहेको बताएका छन् ।

आज संविधान दिवसको अवसरमा एक सन्देश जारी गर्दै सक्रिय राजनीतिमा आएको २ वर्षमा आफ्नो भागमा परेका कमजोरी र नालायकीप्रति माफी मागेका छन् ।

जेनजी आन्दोलनका क्रममा भएका दुखद् घटनालाई जोड्दै उनले भनेका छन्, ‘मैले फर्केर हेरेँ म पनि सक्रिय राजनीतिमा आएको करिब एक दुई वर्ष भएछ । अति आदरणीय इलामेली जनताको जनप्रतिनिधिको रुपमा प्रतिनिधिसभा सदस्यको रुपमा झन्डै डेढ बर्ष काम गर्ने अवसर प्राप्त गरेँ, त्यस हिसाबले यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला, यदि रह्यो भने मेरो भागमा कति पर्छ, कुन्नी । यो कमजोरी र नालायकीप्रति म माफी माग्छु ।’

आफ्नो अधिकार र अस्तित्वको लागि सडकमा उत्रिएका कलिला र अबोध नौजवान साथीहरू मारिएको बर्बर र क्रुरतापूर्ण दृश्यहरुले आफूलाई नराम्ररी झस्काइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘जेन–जीले अस्तित्व र अधिकारको कुरा गरे, भ्रष्टाचारमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए ? किन बर्बर दमन गरियो ?’

उनले इतिहासबाट नसिक्ने र समीक्षा नगर्नेले भविष्यमा पनि उस्तै सास्ती बेहोर्नु पर्ने सत्य रहेको बताएका छन् । ‘हामी खरानी टक्टक्याउँदै उठ्नुपर्छ तर सुन्दर भविष्यका लागि समीक्षा र आज भएका कमजोरीहरूको स्वीकारोक्तिसहित ।’ उनले भनेका छन् ।

आदरणीय अग्रजहरु,

प्रिय साथीहरु ।

उथलपुथलकारी, आँधीमय र कोलाहलमय दिनहरुपछि हामी सामान्य अवस्थामा फर्किने प्रयास गरीरहेका छौं । एकातिर हामीसँग भदौ २३ गतेको जेनजी आन्दोलनले दिएका सन्देश, निर्देश र पाठहरु छन् । अर्कातिर भदौ २४ गतको वितन्डाले हाम्रो बीचमा छोडी गएका अनेक प्रश्न, संसय र पीडाहरु छन् । अहिले पनि मेरो आँखामा भदौ २३ र २४ गतेको दृश्यहरु नाँचिरहेको छ । भदौ २३ गते आफ्नो अधिकार र अस्तित्वको लागि सडकमा उपस्थीति जनाउन गएका कलिला नानीहरु, अबोध नौजवान साथीहरु मारिएको बर्बर र क्रुरतापूर्ण दृश्यहरुले नराम्ररी झस्काइरहेको छ । मेरो मनमा अहिले पनि प्रश्न छ, ‘जेन–जीले अस्तित्व र अधिकारको कुरा गरे, भ्रष्टाचारमाथि प्रश्न उठाए । के यी प्रश्न गलत थिए ? किन बर्बर दमन गरियो रु’ म फेरि पनि उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दछु । घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

त्यही आवरणमा भदौ २४ गते गरिएको तोडफोड, आगजनी, लूटपाटको दृश्यहरुले हामीलाई असह्य पीडा दिइरहेको छ । मलाई विश्वास छ, यसरी ‘जेनजी’हरुको आन्दोलनमा घुसपैठ गरेर राष्ट्रिय क्षति गराउनेहरू कानुन अनुसार नै दण्डित हुनेछन् । २४ गतेको घटनासँग मेरो मनमा कैयन प्रश्नहरु छन् । रातो र चन्द्रसूर्य अंकित हाम्रो प्रिय राष्ट्रिय झन्डा बोकेर हिँडेकाहरूले हाम्रा राष्ट्रिय सम्पदा र सम्पतिहरूमाथि किन आगो लगाए ? उनीहरु को थिए, कसले पठाएका थिए, कहाँबाट आएका थिए ? हाम्रो सुन्दर र सुनिश्चत भबिष्यको लागि पनि हामीले यसको उत्तर खोज्नु नै पर्नेछ । सबैभन्दा बढी त हामी युवाहरुले नै खोज्नुपर्नेछ ।

तर अब यहाँनिर एउटा सत्य के हो भने इतिहासलाई मात्रै बोकेर हिड्दा हाम्रो वर्तमान पनि गुमाउँछौं । भबिष्य अनिश्चितता तर्फ उन्मुख हुनेछ । अतीतमा बाँचिरहनु पीडामा बाँच्नु पनि हो । सँगै यो पनि सत्य हो, इतिहासबाट जो केही सिक्दैन, समीक्षा गर्दैन उनीहरुले भबिष्यमा पनि उस्तै सास्ती बेहोर्नु पर्ने हुन्छ । हामी खरानी टक्टक्याउँदै उठ्नुपर्छ तर सुन्दर भबिष्यका लागि समीक्षा र आज भएका कमजोरीहरूको स्वीकारोक्ति सहित ।

मैले फर्केर हेरेँ म पनि सक्रिय राजनीतिमा आएको करिब एक दुर्ष बर्ष भएछ । अति आदरणीय इलामेली जनताको जनप्रतिनिधिको रुपमा प्रतिनिधिसभा सदस्यको रुपमा झन्डै डेढ बर्ष काम गर्ने अवसर प्राप्त गरेँ, त्यस हिसाबले यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला, यदि रह्यो भने मेरो भागमा कति पर्छ, कुन्नी । यो कमजोरी र नालायकीप्रति म माफी माग्छु । गल्तीहरु नेतृत्वमा बस्नेहरुबाटै हुन्छन्, आत्मालोचना र स्वीकारोक्ति जरुरी छ । जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो । म भन्न चहान्छु, गल्ती कमजोरीहरु सच्चाएर जानेछौं । यो अभियानको एक सदस्यको रुपमा आजको तमाम कमजोरीहरु माफी माग्छु ।

आदरणीय अग्रजहरु,

प्रिय साथीहरु ।

‘जेनजी’ पुस्ताका प्रतिनिधिसँग सम्माननीय राष्ट्रपतिज्यूले वार्ता गरीरहनु भएको बेला मैले विज्ञप्ति मार्फत भनेको थिए, ‘संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै ‘जेन–जी’ पुस्ताको माग सम्बोधनको तयारी भइरहेको छ भन्ने मलाई विश्वास छ ।’ संवैधानिक बाटोबाटै अथवा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम् क्षति नपुग्ने गरी संबिधानको मर्म अनुरुप निष्कर्ष खोज्नु नै उपयुक्त हुने मेरो मत थियो । मैले भनेका थिए, ‘हाम्रो अग्रजरतपाईं हाम्रो बलिदान र संघर्षबाट प्राप्त राजनीतिक तथा संवैधानिक व्यवस्थाहरुलाई भत्काउने र असफल मुलुक बनाउने अनि ‘जेन–जी’ पुस्तालाई सुन्दर भबिष्य निर्माणबाट बिमुख गर्ने प्रयासप्रति ‘जेन–जी’ पुस्ता सजग रहनुपर्छ ।’ मैले प्रिय जेनजी साथीहरुको अडान सुनेँ, भिडियोहरु हेरेँ । संबिधान र व्यवस्थाप्रति तपाईंहरुले जुन अडान र प्रतिबद्धता जनाउनु भयो । म त्यो अडानप्रति हार्दिक सलाम र सम्मान व्यक्त गर्दछु ।

फेरि पनि हामीले हाम्रो संबिधान र व्यवस्थाको रक्षा गरेर अघि जानुछ । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षाको युगिन जिम्मेवारी फेरि एक पटक इतिहासले हामीलाई सुम्पिएको छ । अनेकन नाम र आवरणमा हुने सबै खालका गलत कदमहरुलाई अस्वीकार गर्नुछ । यस बेला म सबै–सबै अग्रज र नौजवान साथीहरुलाई फेरि पनि भन्छु, ‘अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौं ।’ इतिहासको घाउँ कोट्एर भविष्य थप अनिश्चित नबनाऔं । फेरि पनि कही कतैबाट आवेग, उत्तेजनाहरु सुनिनु गलत हुनेछ । २४ तान्डव सबर्था गलत थियो । आन्दोलनमा घुसपैठ भयो भन्ने निचोडमा स्वंयम् जेनजीका अगुवाहरु पुगी नै सक्नु भएको छ । यस अवस्थामा आफ्नै आचारसहिता, आर्दश बनाएर आफ्नो अस्तित्व र अधिकारको निम्ती सडकमा आएका ‘जेनजी’हरुलाई उत्तेजनापूर्ण आरोप लगाउनु आफ्नै सन्ततीहरुलाई गाली गर्नु हो । आफ्नै सन्ततीहरुलाई गाली गर्ने जो जिम्मेवार अभिभावक बन्नै सक्दैनन् ।

मलाई लाग्छ, ‘आवश्यकताको सिद्धान्त अनुसार संबिधानको कम क्षतिमा अन्तरिम सरकार बनेको छ ।’ म सम्माननीय प्रधानमन्त्री सुशिला कार्की सहित सबैलाई बधाई भन्छु । म वर्तमान सरकारलाई पनि अनुरोध गर्न चहान्छु, यसअघिका भएका गल्तीहरु नदोहोर्योस् । मलाई विश्वास छ, थप मुठभेटमा होइन, प्रतिशोधमा पनि होइन बढो सम्हालिएर सबैलाई सँगै लिएर तोकिएकै समयमा निर्वाचन मार्फत मुलुकलाई सही ट्रयाकमा लैजान यहाँहरुको भूमिका रहनेछ । तपाईंहरुप्रतिको भोलिको भरोषा र सम्मान पनि त्यसैमा निर्भर रहनेछ । आजको हाम्रो बाटो र उज्यालो यही हो । यही बाटो र उज्यालो समाएर हिँड्न म अपिल गर्दछु ।

धन्यवाद । नमस्कार । सेवारो

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट