२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

महामन्त्रीलाई कांग्रेस नेताकै प्रश्न : उपचाररत सभापतिको स्वास्थ्यलाभको कामना गर्ने कि पद छोड भन्ने ?

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई नेपाली जनसम्पर्क समितिहरूका सभापतिले आन्दोलनकारीबाट कुटाइ खाई सख्त घाइते भएर अस्पतालको बेडमा रहेका आफ्ना पार्टी सभापतिको स्वास्थ्यलाभको कामना गर्न नसकेको भनेर आलोचना गरेका छन् ।

नेपाली कांग्रेसको जनसम्पर्क समिति विभागको भर्चुअल बैठकमा विभिन्न देशका समिति सभापतिहरुले यस्तो अवस्थामा पनि पार्टीले उक्त कार्यको विरोध र भर्त्सना गर्न नसकेको भनेर आक्रोस पोखेका हुन् ।

सो बैठकमा विभिन्न ३८ देशका समिति सभापतिहरु सहभागी भएका थिए र २५ जनाले धारणा राखेका थिए । उनीहरुले नेपाली कांग्रेसका महामन्त्री थापा र शर्मालाई सो प्रश्न गर्दै भनेका थिए, ‘पार्टी सभापति र बहालवाला परराष्ट्र मन्त्रीले आन्दोलनकारीबाट कुटाई खाएको त यहाँहरुले पनि देख्नुभएकै होला नि । तर त्यसपछि यहाँहरु आफ्ना भिडियो सन्देशहरु लिएर आउनुभयो, त्यो राम्रै हो । तर पनि अस्पतालको बेडमा रहेका सभापति र पार्टीका केन्द्रीय सदस्यमाथिको हमलाको विरोध गर्न किन डराउनुभयो ? यो महामन्त्रीको दायित्वभित्र पर्छ कि पर्दैन ?’

जेनजी आन्दोलनका क्रममा २४ भदौमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीहरु प्रवेश गरेर उनी र बहालवाला परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि कुटपिट गरेका थिए । त्यस दिन महामन्त्रीहरुसहित देशका विभिन्न क्षेत्रमा कांग्रेसका नेताका घरमा पनि हमला भएको थियो ।

त्यसपछि सभापति देउवा दम्पत्ति अस्पतालमा उपचाररत छन् । यता महामन्त्री थापा र शर्माले भने भिडियोमातर्फत् आफ्ना भनाइहरु राखिरहेका छन् । त्यसमा आफ्नै पार्टी सभापति देउवाका बारेमा केही बोलेका छैनन् । उनीहरुले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने र नयाँ ढंगले सच्चिएर अघि बढ्नुपर्ने बताएका छन् ।

उनीहरुको विचार समय सापेक्ष रहेपनि आफ्नै पार्टी सभापति आन्दोलनकारीको आक्रमणबाट घाइते भइ अस्पतालमा रहेका बेला उक्त घटनाको विरोध गर्ने र उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिने काम किन नगरेको भनेर समिति सभापतिहरुले गुनासो पोखेका हुन् ।

थापा र शर्माका कैयौँ भिडियोहरुमा पनि उपचाररत आफ्नै पार्टी सभापतिप्रति स्वास्थ्यलाभको कामना समेत गर्न नसकेकोमा पनि उनीहरुले जिज्ञासा राखेका थिए । बरु अस्पतालको बेडमा उपचार गराइरहेका पार्टी सभापतिले अब पद छोड्नुपर्ने र आगामी दिनमा पार्टीले नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने उनीहरुको भिडियो सन्देशमा आएको छ ।

अस्पतालको बेडमा रहेका सभापतिलाई कस्तो अवस्थामा पार्टी छोड्न भनेको भनेर पनि उनीहरुले आक्रोश पोखेका छन् । महामन्त्रीद्वयलाई पार्टीको नेतृत्व परिवर्तनका विषयमा हतास र हतार रुपमा आफ्ना धारणा राखेको पनि समितिका प्राय सबैजसो सभापतिहरुले बताएका थिए ।

उक्त बैठकमा महामन्त्री शर्माले भने प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन भएको र देश निर्वाचनमा जाने विषयको छलफल प्रारम्भ भएको भन्दै कांग्रेसको आगामी बाटोका बारेमा सुझाव मागेका थिए । त्यसक्रममा जनसम्पर्क सभापतिहरूको साझा भनाइ भने केन्द्रीय समितिले निर्णय गरेर पार्टीको अवधारणा बनेपछि मात्र आफूहरूले राख्न सक्ने बताएका थिए ।

उनीहरूले फेसबुकमार्फत महामन्त्रीहरुले सार्वजनिक गरेको धारणा र पार्टीको धारणाका बीचमा केही फरक छ कि छैन ? आफूहरुले तथा समग्र कांग्रेसका कार्यकर्ताले यसलाई कसरी बुझ्ने भन्ने प्रश्न गर्दै तपाईंहरूले सभापतिलाई भेट्नुभयो कि भेट्नुभएन ? उहाँको स्वास्थ्य अवस्था कस्तो छ ? सभापतिलाई पार्टीको सद्भावको जरुरत छ कि छैन ? यो अवस्थामा उहाँलाई पार्टीको सद्भाव आवश्यक छ कि नेतृत्वबाट विस्थापनको ? भनी प्रश्न गरेका थिए ।

ती प्रश्नमा महामन्त्री शर्माले आफूहरुले पार्टी सभापतिलाई भेट्न नपाएको बताएका थिए । उनीहरुले सभापतिलाई नभेटेको तथा कार्यसम्पादन जस्तै गरी केन्द्रीय समितिको बैठक नराखेको विषयमा पनि प्रश्न उठाएका थिए ।

सभापतिलाई घरबाट कुटपिट गरेर लखेटिएपछि घर कब्जामा लिएर आन्दोलनकारीहरुले विभिन्न भिडियो बनाएका, पैसा भेटिएको जस्ता भिडियो प्रचारमा ल्याएर बदनाम गरिएको अवस्थामा यसको आधिकारिकता के हो भन्ने बारेमा पनि महामन्त्रीले अथवा पार्टीले यसप्रति आधिकारिक धारणा राख्नुपर्दैन भनेर पनि प्रश्न गरेका थिए ।

जनसम्पर्क समिति समन्वय विभागका सभापति किरणराज पौडेलले सो भर्चुअल बैठकको आयोजना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट