काठमाडौं। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेसहितका महाधिवेशन प्रतिनिधिहरूले पार्टीमा विशेष महाधिवेशन बोलाउन हस्ताक्षर अभियान सुरु गरेका छन्। प्रतिनिधिहरूले पार्टी सभापति शेरबहादुर देउवामाथि हालैको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा व्यक्त गर्दै विगतका गल्तीहरूप्रति क्षमा माग्न र सुधारका साथ भविष्य निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।
प्रतिनिधिहरूले पार्टीलाई अहिलेको दुरावस्थाबाट बाहिर निकाल्न र समयसापेक्ष प्रभावकारी बनाउने जिम्मेवारीबोध गर्दै विधानको धारा १७(२) अनुसार सबै प्रतिनिधिलाई विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।
हालको अवस्थामा केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउने दायित्व भए पनि त्यसको सम्भावना कम देखिएको कारण प्रतिनिधिहरू नै पहलमा लागेका हुन्। प्रतिनिधिहरूले हस्ताक्षर संकलनमार्फत पार्टी नेतृत्वलाई यो आवश्यकता औंल्याउने र विधिवत प्रक्रिया अघि बढाउने तयारी गरिरहेको स्रोतले बताएका छन्।
यस पहलले पार्टीभित्रको वर्तमान असन्तोष र नेतृत्व सुधारको मागलाई व्यापक रुप दिने अपेक्षा गरिएको छ। राजनीतिक विश्लेषकहरूले पनि प्रतिनिधिहरूको कदमलाई पार्टीमा लोकतान्त्रिक प्रक्रियाको मजबुत संकेतका रूपमा मूल्यांकन गरेका छन्।




प्रतिक्रिया दिनुहोस