काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी अध्यक्षको भूमिका छोड्न तयार भएका छन् । आज बिहीबार माओवादी केन्द्रीय कमिटी बैठकमा उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष प्रचण्डले आफ्नो भूमिका बदल्न तयार रहेको स्पष्ट पारेका हुन् ।
बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले अब महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने अध्यक्षकै प्रस्ताव रहेको दाबी गरे।
उनले भने, ‘अध्यक्षले पनि गएको साउनमा प्रस्ताव नै राख्नुभएको थियो म मेरो भूमिका बदल्छु भनेर। सङ्गठनात्मक रूपमा नयाँ पुस्तालाई अघि सार्छु भनेर। अहिले जेनजी आन्दोलनपछि यो बहस अघि बढेको छ। अब महाधिवेशनबाट विधि बनाएर पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस्। विधि र प्रक्रियामा जाऔँ भनेर उहाँले नै प्रस्ताव राख्नुभएको छ। त्यसलाई पार्टीले स्वीकारेर ओपन छलफल गर्छ।’
जेनजी आन्दोलनको भावनालाई आत्मसाथ गरेर नेतृत्व हस्तान्तरण र नेतृत्वको भूमिकाले परिवर्तन गर्नुपर्छ भन्नेतर्फ माओवादी लागेको पनि उनले बताए ।
उनले आन्दोलनको फाइदा उठाउँदै कार्यालयदेखि नेताहरूको घर जलाएको विषयमा भने छानबिन गर्न माग गरे।
प्रतिक्रिया दिनुहोस