काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राजनीतिक दललाई शक्ति र सत्ता केन्द्रित नभई विचार र मुद्दा केन्द्रित बनाउनुपर्ने बताएका छन् ।
समाजवादी धारका पाँच दलका युवा नेताहरुले एकताका लागि पार्टी नेतृत्वसँग संयुक्त अपिल गरेको प्रशंगबारे कुरा गर्दै बस्नेतले सर्वशक्तिमान नेतृत्व निर्माणका लागि नभई मुलुकको आवश्यकतालाई सम्बोधन गर्न विचार, सिद्धान्त र मुद्दा मिल्ने दलहरु बीच एकताको कुरा गरिएको बताए ।
बस्नेतले भने, कांग्रेस कम्युनिष्टको शक्ति र सत्ताप्रतिको आशक्तिले नै आज मुलुकमा यो अवस्था आएको हो । जनताको भावनालाई सम्बोधन गर्न सकेको भए आज दलहरु विघटनको अवस्थामा आइपुग्ने थिएनन् ।’
कांग्रेस र कम्युनिष्ट सत्ता केन्द्रित र समाजवादी दलहरु मधेस केन्द्रित भएको बस्नेतको आरोप छ । उनी भन्छन् ‘कांग्रेस कम्युनिष्टले सत्तामा र समाजवादीहरुले मधेसमा मात्र आफ्नो अस्तित्व खोजे ।’
परिवर्तनको जनआकांक्षा नबुझ्ने दलहरुले आफ्नो अस्तित्व जोगाउने प्रयत्न गर्न नहुने उनको भनाइ छ ।
जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का १२ युवा नेताहरुले एकताका लागि पार्टी नेतृत्वलाई बुधबार संयुक्त अपिल गरेका थिए । त्यसलगत्तै बिहीबार बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा सचिवालयले एकताका लागि प्रस्ताव गरेको छ ।
प्रतिक्रिया दिनुहोस