काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै राजीनामा माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले कार्कीले नयाँ पुस्ताको भावनाअनुरूप नेतृत्व गर्न नसकेको दाबी गरेका छन्। साम्पाङले लेखेका छन्, “सुशीला जी ‘तपाईंले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजिनामा दिनुस् ! म गर्छु उनीहरूको माग पूरा एक–एक गरेर !”
केही दिनमै आलोचना चुलियो
सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएको केही दिन मात्रै भएको अवस्थामा नै उनको नेतृत्वप्रति असन्तुष्टि चर्किन थालेको हो। मन्त्रिपरिषद् विस्तार दुईपटक गरे पनि उनको क्याबिनेट आठ सदस्यीय मात्रै पुगेको छ। कार्कीसहित ९ वटा मन्त्रालय रहेका छन्, र बाँकी मन्त्रीहरू पनि एकभन्दा बढी मन्त्रालय सम्हालिरहेका छन्।
‘नयाँ पुस्ताको सरकार’ भने पनि पुरानै अनुहारको हाबी
जेनजी आन्दोलनपछि बनेको यो सरकार नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने भनेर प्रस्तुत गरिएको थियो। तर प्रधानमन्त्रीसहित केही मन्त्रीहरू ७० वर्षको हाराहारीका हुँदा आलोचना बढेको छ। परिवर्तनको अपेक्षासहित सडकमा उत्रिएका युवाहरूको भावनालाई बेवास्ता गरिएको टिप्पणी सामाजिक संजालमा विस्तारै बढ्दै गएको छ।
मेयर साम्पाङको सार्वजनिक अभिव्यक्तिले प्रधानमन्त्रीमाथि थप दबाब सिर्जना भएको विश्लेषण गरिएको छ।
प्रतिक्रिया दिनुहोस