काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा बोलाइएको हो।
जेनजी युवा आन्दोलनपछि एमालेमा यो पहिलो औपचारिक बैठक हो। आन्दोलनपछि पार्टी नेतृत्वमाथि उठेका प्रश्न र आन्तरिक समीक्षाका कारण बैठकलाई महत्त्वपूर्ण मानिएको छ।
सचिवालय बैठकमा जेनजी आन्दोलन, जनधनको क्षति, तत्कालीन सरकारको भूमिका र पार्टीको आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमको मूल्यांकन सहित आवश्यक निर्णय लिने कार्यसूची तय गरिएको छ।
भदौ २३ र २४ मा भएका प्रदर्शनका क्रममा ७४ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ। सरकारी तथा निजी संरचनामा खर्बौं रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। आन्दोलनका क्रममा केपी शर्मा ओली नेतृत्वको सरकारले कस्तो भूमिका खेल्यो भन्ने विषय आजको छलफलको केन्द्र हुने अपेक्षा गरिएको छ।
संविधान दिवसका दिन अध्यक्ष ओलीले विज्ञप्ति जारी गर्दै सरकारले गोली चलाउन आदेश नदिएको र प्रहरी बाहेकका हतियार प्रयोग भएको दाबी गरेका थिए। सो दाबीबारे पनि सचिवालयमा छलफल हुने अनुमान गरिएको छ।
प्रतिक्रिया दिनुहोस