काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको अवसरमा शुभकामना सन्देश जारी गर्दै भूराजनीतिक चक्रव्यूहमा नफस्ने गरी अखण्ड नेपाललाई नवनिर्माण गर्नुपर्नेमा जोड दिएका छन्।
उनले अबको कार्ययोजना “बिगार्ने होइन, सपार्ने” दिशातर्फ अघि बढ्नुपर्ने धारणा राख्दै नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थामा समेट्न आवश्यक रहेको बताए।
पूर्वराजा शाहले भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं तय गर्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु आवश्यक छ।’ उनले वर्तमान राज्यपद्धति र व्यवस्थापनलाई समय सापेक्ष सुधार गर्दै जनमनोभावनालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने औँल्याए।
उनले नयाँ पुस्ताको ऊर्जाशक्ति, देशभक्ति भावना र नवीन सोचको महत्वसमेत जोड्दै भने, ‘विकसित हुँदै गएको आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई हामीले ग्रहण गर्नैपर्छ। युवा शक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजान सक्छ।’
पूर्वराजा शाहले थपे, ‘यही समयको माग हो। हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौं। बिगार्ने, भत्काउने र जलाउने तिर हामी धेरै खटिएका छौं। अब समय आएको छ, सबै कार्यक्रम सुधार र समृद्धितर्फ अघि बढाउनुपर्ने।’
उनको यो अभिव्यक्ति देशको भूराजनीतिक स्थिरता, युवा सशक्तिकरण र दीर्घकालीन विकासका दृष्टिकोणसँग जोडिएको मानिएको छ।

प्रतिक्रिया दिनुहोस