काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य डा. सुनिल कुमार शर्माले विजयादशमीको सन्दर्भमा जारी गरेकाे सन्देशमा विगतका राजनीतिक कमजोरीहरू खुलेर स्वीकार गर्दै पार्टीको आत्मालोचना र पुनर्संयोजनकाे प्रतिबद्धता व्यक्त गरेका छन्।
ऋग्वेदको एकतामूलक मन्त्र उद्धृत गर्दै सुरु गरिएको सन्देशमा उनले सहकार्य, समन्वय र साझा लक्ष्यमा आधारित नयाँ राजनीतिक संस्कृतिको आवश्यकता औंल्याएका छन्। डा. शर्माले विगतका केही नेताको भ्रष्टाचार, स्वार्थ र अपारदर्शिताका कारण जनतामा गहिरो निराशा फैलिएको स्वीकार गरेका छन्।
उनले भनेका छन्, "हामी यो यथार्थलाई लुकाउने प्रयास गर्दैनौँ। बरु आत्मसमीक्षाको साहसका साथ सम्पूर्ण नेपाली जनसमुदाय सामु विनम्रतापूर्वक क्षमा याचना गर्दछौँ। किनभने क्षमा माग्नु कमजोरी होइन; यो सत्यप्रतिको निष्ठा र आत्मालोचनाको इमानदार प्रमाण हो।"
डा. शर्माले आफ्नो पार्टीभित्र देखिएका कमजोरीहरूलाई स्वीकार गर्दै केही इमानदार नेताहरू भ्रष्टाचार नगरेको अवस्थामा पनि दोषारोपणको सिकार भएको गुनासो गरेका छन्। उनका अनुसार, “जसले कहिल्यै भ्रष्टाचार गरेनन्, ती व्यक्तिहरूलाई अरूको पापको बोझ थोपर्नु अन्याय हो।”
उनले राजनीतिक क्षेत्रलाई आरोप र बदनामीको थलो मात्र नबनाई, सेवा, त्याग र आदर्शको माध्यम बनाउनु पर्नेमा जोड दिएका छन्। सन्देशमा पार्टीका इमानदार नेताहरूको आत्मसम्मान रक्षा कांग्रेसको दायित्व भएको स्पष्ट रूपमा उल्लेख गरिएको छ।
सन्देशमा बी.पी. कोईराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोईरालाजस्ता नेताहरूको योगदानको स्मरण गर्दै, आजको नेतृत्वले उनीहरूको सपना अधुरो राख्न नहुने स्पष्ट सन्देश दिएका छन्।
उनले भनेका छन्, “लोकतन्त्र माथि खेलवाड गर्ने छुट कसैलाई पनि छैन। न्यायमा आधारित समाज, समान अवसरमा टेकेर अघि बढ्ने शासन व्यवस्था र समृद्ध नेपाल निर्माण हाम्रो ऐतिहासिक जिम्मेवारी हो।”
डा. शर्माले आगामी दिनमा पार्टीको पुनर्जीवनका लागि आत्मालोचना र आत्मसुधारलाई राजनीतिक यात्राको अनिवार्य आधार बनाइने बताए। "हाम्रो लक्ष्य केवल पार्टीको पुनर्जीवन होइन; हाम्रो लक्ष्य न्यायमा आधारित समाजको निर्माण, समान अवसरमा आधारित अर्थतन्त्रको स्थापना र विश्वसामु गर्वका साथ उभिन सक्ने समृद्ध नेपाल निर्माण गर्नु हो," सन्देशमा उल्लेख छ।
दशैंको अवसरमा उनले सम्पूर्ण नेपाली जनसमुदायमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय ऐक्य, सहकार्य र साझा प्रयासमार्फत देशको पुनर्निर्माण र समृद्धिको मार्गमा अघि बढ्न आह्वान गरेका छन्।
देश र जनता भन्दा कोही ठूलो छैन । देश र जनताको सवालमा पार्टी भन्दा माथी उक्लेर काम गर्नु पर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै आउनु भएका तत्कालिन प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति डा. सुनिल कुमार शर्माले सामाजिक र मानवीय जिम्मेवारी निर्वाह गर्दै गारिब निमुखा बिमारिको उपचारमा निरन्तर सहयोग गरिरहेका छन् । उनले हालै भदौ २३ र २४गते भएको जेन्जी आन्दोलनमा घाइते भएका सबैको नोबेल मेडिकल कलेज साथै काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचार गरेका हुन्, उनले सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्। यस्ता शिविरहरूमा उपचार सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा ल्याई निःशुल्क उपचारको व्यवस्था मिलाउने कार्य निरन्तर भइरहेको छ।
उनकै पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका लागि समर्पित ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। पार्टी वा पहिचानको आधारमा नभई सबै नेपालीलाई समान रूपमा सेवा पुर्याउने प्रतिबद्धता उनले जनाएका छन्।
हालै उनले मोरङको बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्, साथै देशका सात विभिन्न स्थानमा निजी पहलमा एम्बुलेन्स उपलब्ध गराइसकेका छन्। उनका यी मानवीय कार्यहरूले “नेता भनेको जनताको साँचो अभिभावक हो” भन्ने सन्देशलाई बलियो बनाएका छन्।
प्रतिक्रिया दिनुहोस