काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाका भाइ भूषण राणाको निवासमा आइतबार साँझ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले छापा मारेको छ। शंकास्पद आर्थिक गतिविधिसम्बन्धी प्रारम्भिक सूचना पाएपछि अनुसन्धानको क्रममा गरिएको सो छापामा प्रहरीले केही महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको सिआईबी स्रोतले जनाएको छ।
भूषण राणा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका सालो हुन्। उनी करिब एक महिनादेखि युरोपमा रहेका कारण छापा मार्ने समयमा घरमा उपस्थित थिएनन्। उनी गैरहाजिर रहे पनि प्रहरी टोलीले निवासमै पुगेर कागजपत्र संकलन गरेको बताइएको छ।
सिआईबीका एक अधिकारीका अनुसार, घरभित्रबाट स्रोत नखुलेको रकम तथा आर्थिक लेनदेनसँग सम्बन्धित हुन सक्ने कागजात भेटिएको आशंका छ। ती कागजातको सूक्ष्म अध्ययन सुरु भएको र आवश्यक परे थप स्रोतसँग मिलान गरिने बताइएको छ।
भूषण राणामाथि विगतदेखि नै ठूला सरकारी ठेक्का र राजकीय नियुक्तिमा डिल गर्ने गरेको आरोप लाग्दै आएको छ। आरजु राणाको आर्थिक गतिविधिमा पनि उनी प्रभावशाली रूपमा संलग्न रहेको दाबी गर्दै विभिन्न समयमा राजनीतिक वृत्तमा प्रश्न उठ्ने गरेको थियो। यस्तै, सरकारी निकासँग जोडिएका संवेदनशील आर्थिक चलखेलमा उनको भूमिका रहेको भन्दै आलोचना भइरहेको छ।
छापामा प्राप्त सामग्रीबारे एक उच्च प्रहरी अधिकारीले भने, “सङ्कलित कागजपत्रको परीक्षण भइरहेको छ। प्रमाण पुष्टि भएमा कानुनी प्रक्रिया अघि बढाइनेछ।” तर, आधिकारिक रूपमा सिआईबीले घटना सार्वजनिक गरेको छैन।
यसबीच, भूषण राणा विदेशमा रहेको अवस्थामै अनुसन्धान अघि बढाइएकाले उनको प्रत्यक्ष बयान कहिले र कसरी लिने भन्ने विषयमा पनि चर्चा सुरु भएको छ। आवश्यक परे इन्टरपोलमार्फत सहकार्य गर्ने विकल्पका बारेमा समेत छलफल भइरहेको सिआईबी निकट स्रोतले जानकारी दिएको छ।
यस घटनाले सत्ता नजिकका व्यक्ति आर्थिक छानबिनको घेरामा आउन थालेको संकेत गरेको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ। छानबिनको निष्कर्षले ठूला राजनीतिक तथा प्रशासनिक संरचनासम्म प्रभाव पार्ने सम्भावनासमेत देखिएको छ।
प्रतिक्रिया दिनुहोस