काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।
पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको पारिवारका सदस्यहरूले बताएका छन् ।
राईलाई टाउकोको पछाडिको भागमा गोली लागेको थियो र उनी आन्दोलनपछि राष्ट्रिय ट्रमा सेन्टरमा आईसीयूमा भर्ना थिए। घाइते भएकै दिनदेखि कोमामा रहेका उनलाई चिकित्सकहरूको निगरानीमा राखिएको थियो। मृत्यु पुष्टि भएपछि शवलाई पोष्टमार्टमका लागि टीकाु त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागमा लगिएको छ।
राई काठमाडौंको बालाजु क्षेत्रमा मजदुरी गर्दै आएका थिए। परिवारसँग उनको नियमित सम्पर्क नहुँदा प्रारम्भिक पहिचान खुल्न केही ढिलाइ गरिएको थियो। दुई दिनसम्म गुमनाम घाइतेको रूपमा ट्रमा सेन्टरमा उपचार भइरहेको अवस्थामा पछि मात्र उनको परिचय पुष्टि गरिएको परिवारजनले बताए।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा सयौं घाइते भएका थिए। त्यस क्रममा गम्भीर चोट पाएका राईको मृत्युपछि आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस