काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदलाई कूटनीतिक पासपोर्ट (रातो पासपोर्ट) र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार, राजीनामा दिइसकेका सांसदहरूले दस्तावेजहरू जतिसक्दो छिटो फिर्ता गर्न अनुरोध गरिएको हो।
जेनजी आन्दोलनपछि रास्वपाका सांसदहरूले सामूहिक रूपमा पदबाट राजीनामा दिएका थिए। सोही सन्दर्भलाई औपचारिक रूप दिन पार्टीले पासपोर्ट तथा परिचयपत्र फिर्ता गर्ने प्रक्रिया अघि बढाएको हो।
यस्तै, पार्टीले यस वर्ष चाडपर्वका अवसरमा ब्यानर वा झण्डा प्रयोग गरेर कुनै पनि औपचारिक कार्यक्रम नगर्न निर्देशन जारी गरेको छ। रास्वपाले जेनजी आन्दोलनलाई जनजीवन र सुशासनका लागि महत्वपूर्ण जनआन्दोलनको रूपमा चित्रण गर्दै यसलाई राष्ट्रिय शोकको अवस्था बताएको छ।
पार्टीले जारी गरेको वक्तव्यमा भनिएको छ, “जेनजीको अगुवाइमा भएको सुशासनका लागि परिवर्तनको महत्त्वपूर्ण आन्दोलनका क्रममा ७५ जनाको ज्यान गएको अवस्थामा हामी राष्ट्रिय शोकको घडीमा छौं। तसर्थ यसपटक पार्टीको ब्यानर र झण्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्वसम्बन्धित कार्यक्रम आयोजना नगर्न नगराउन सबै तहका पार्टीपंक्तिमा अनुरोध गरिन्छ।”
रास्वपाले संगठनका तल्लो तहसम्म यो निर्देशन कार्यान्वयन गराउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस