काठमाडौं । नवरात्रको आठौं दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ । नौ दिनसम्म शक्तिको प्रतीक देवीका विभिन्न रूपहरूको पूजा गरिने प्रचलनअनुसार आज महाअष्टमीका अवसरमा महागौरीको विशेष विधिपूर्वक आराधना गर्न लागिएको हो।
वैदिक सनातन परम्पराअनुसार नवरात्रमा देवीको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास रहेको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गाका नौ रूपको पूजा गरिन्छ र विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद लगाइने प्रचलन छ। यसरी दशैंको उत्सव १५ दिनसम्म मनाइन्छ।
दशैंका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ रूपलाई संयुक्त रूपमा नवदुर्गा भनिन्छ।
नवरात्रको अवसरमा देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा आज बिहानैदेखि भक्तजनको भीड देखिएको छ। काठमाडौं उपत्यकाका शक्तिस्थलदेखि बाहिरी जिल्लासम्म पूजा, दर्शन र भजनलगायत क्रियाकलापमा भक्तहरूको उपस्थिति बढेको छ।
फूलपातीदेखि दशैंको सांस्कृतिक र धार्मिक गतिविधि औपचारिक रूपमा चहलपहलसहित सुरु हुने परम्परा रहिआएको छ।
प्रतिक्रिया दिनुहोस