काठमाडौं । नवदुर्गा पूजा (नवरात्र) को नवौं र अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा आराधना गरी धार्मिक पर्व समापन हुँदैछ। दुर्गा देवीका नौ रूपमध्ये अन्तिम स्वरूपका रूपमा पूजिने सिद्धिदात्री देवीलाई शक्ति, सिद्धि र मनोकांक्षा पूर्तिकी प्रतीक मानिन्छ।
धार्मिक मान्यताअनुसार विधिपूर्वक पूजा गर्ने भक्तजनलाई सबै प्रकारका सिद्धि प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास छ। यही कारण आज देशभरका शक्तिपीठ, देवीमन्दिर तथा पुजास्थलहरूमा बिहानैदेखि भक्तजनको भीड देखिन थालेको छ।
काठमाडौं उपत्यकामा भद्रकाली, मैतीदेवी, नक्साल भगवती, तलेजु भवानी, दक्षिणकाली, संकटा, कात्यायनी, शोभा भगवती, बज्रयोगिनी, गुह्येश्वरी, महाँकाल लगायतका शक्तिपीठमा दशैँभर विशेष पूजा आराधना गरिएको छ। आज पनि देवी स्तोत्र र दुर्गा सप्तशती पाठ जारी छन्।
यसैबीच, नवरात्र सकिएसँगै भोलि विहीबारदेखि विजयादशमीको टीका सुरु हुनेछ। घरघरमा टीका प्रसाद ग्रहण तथा जमरा राख्ने तयारी तीव्र भएको छ। मान्यजनबाट दिनभर टीका लगाउन मिल्ने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ५३ मिनेटलाई विजयादशमीको शुभ साइत निर्धारण गरेको छ।
नवरात्रका नौ दिन पूजा गरेर राखिएको प्रसाद, जमरा र टीका कोजाग्रत पूर्णिमासम्म प्रयोग गर्न सकिने धार्मिक परम्परा छ। धार्मिक सांस्कृतिक माहोलमा परिवार, नातागोता र आफन्तबीच आशिष ग्रहण गर्ने क्रम भोलिदेखि देशभर आरम्भ हुनेछ।
प्रतिक्रिया दिनुहोस