वीरगंज । वीरगंजमा आयोजित दसैँ मेलामा मंगलबार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ ।
मेलाको पहिलो दिनमै दुई समूहबीच सुरु भएको विवाद राति हिंसात्मक रुप लिँदा २० वर्षीय ‘गोल्डेन’ नामका युवकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मृतकको पूर्ण परिचय भने खुल्न बाँकी छ।
प्रहरी प्रवक्ता तथा डिएसपी हरिबहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलामा पसल राख्ने विषयलाई लिएर दुई समूहबीच तर्कबितर्क सुरु भएको थियो। सोही विवाद राति झगडामा परिणत भयो र गोल्डेनमाथि भाटा (लौरोरडण्डा) प्रहार गरिएको अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल पुर्याइए पनि राति नै उनको मृत्यु भएको हो।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। तर अनुसन्धानलाई प्रभावित हुन नदिने उद्देश्यले अहिले नाम सार्वजनिक गरिएको छैन। पक्राउ परेकासँग सोधपुछ जारी रहेको डिएसपी बस्नेतले बताए।
प्रहरीका अनुसार विवादको मुख्य कारण अझै स्पष्ट भएको छैन। “पसल व्यवस्थापन र जग्गा कब्जाको विषयमा कुरा काटाकुटी भएको प्रारम्भिक देखिन्छ, तर पक्का विवरणका लागि सूक्ष्म अनुसन्धान भइरहेको छ,” डिएसपी बस्नेतले जानकारी दिए।
मृतक गोल्डेनको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमै राखिएको छ। अस्पताल परिसरमा उनको परिवार तथा आफन्त शोकाकुल अवस्थामा देखिएका छन्। मेलाको सुरक्षाबारे प्रहरी प्रशासनले थप कडाइ गर्ने तयारी गरेको जनाएको छ।
दसैँ उत्सवको माहोलमा भएको यस घटनाले स्थानीयलाई त्रासमा पारेको छ भने मेलाको वातावरणसमेत प्रभावित भएको छ।
प्रतिक्रिया दिनुहोस