२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

सुनसान प्रायः छ काठमाडौं

बुधवार , आश्विन १५, २०८२

काठमाडौं । हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ ।

उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ ।

सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ । ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौँका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको भनाइले पनि यसलाई पुष्टि गर्छ ।

उनले भने, “दसैँका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक विगतमा भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौँ ।”

गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घरआँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर सामाजिक सञ्जालमा प्रशस्तमात्रामा देखिन थालेका छन् । परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनःभेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् । दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् ।

दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मङ्गलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौँ उपत्यका छाडेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट