काठमाडौं । बंगालको खाडीबाट विकसित भएको न्यूनचापीय प्रणाली शनिबार रातिदेखि नेपाल प्रवेश गर्ने निश्चित भएको मौसमविद्हरूले बताएका छन्। उक्त प्रणाली भारतको बिहार हुँदै आइतबारदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा फैलिने अनुमान गरिएको छ।
त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञ मदन सिग्देलका अनुसार अरब सागरबाट सक्रिय पश्चिमी वायु र बंगालतर्फको न्यूनचापीय प्रणालीको संयुक्त प्रभावले शनिबारदेखि सोमबारसम्म देशभर वर्षा गराउने चिन्ह देखिएको हो।
जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अवधिमा कतिपय स्थानमा ४ सय मिलिमिटरसम्म वर्षा हुनसक्ने प्रक्षेपण छ। २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी पानी परे पहिरो र बाढीको जोखिम हुने चेतावनी विभागले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ।
मौसमविद्हरू विनोद पोखरेल र धर्मराज उप्रेतीका अनुसार मनसुनी प्रभाव लम्बिँदा दशैंलगत्तैको झरीलाई हल्का रुपमा लिन नहुने अवस्था छ। उनीहरूको भनाइमा यसपालिको प्रणाली गत वर्ष असोज ११–१२ को भीषण वर्षासँग मिल्दोजुल्दो देखिएको छ।
शनिबार अपराह्नदेखि सोमबार बिहानसम्म राजमार्ग यात्रामा निस्कँदा जोखिम हुने विज्ञहरूको भनाइ छ। नारायणगढ–मुग्लिन, भीपी राजमार्गलगायत पहिरो प्रभावित सडकखण्डमा सतर्कता आवश्यक रहेको जनाइएको छ।
किसानलाई धान भित्र्याउन केही दिन पर्खन सुझाव दिँदै मौसमविद्हरूले काटिसकेको अन्न सुरक्षित स्थानमा राख्न आग्रह गरेका छन्। विपद् व्यवस्थापन प्राधिकरण, गृह प्रशासन र मौसम पूर्वानुमान महाशाखाबीच आपत्कालीन समन्वय आवश्यक रहेको विशेषज्ञहरूको ठहर छ।
प्रतिक्रिया दिनुहोस