काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडबाडको समयमा हवाई टिकटको अत्यधिक मूल्यवृद्धिलाई नियन्त्रण गर्न नयाँ भाडादर सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार तय गरिएको भाडाभन्दा बढी रकम लिएको विमान सेवा प्रदायकविरुद्ध कानुनी कारबाही अगाडि बढाइने छ।
नयाँ भाडादर अनुसार काठमाडौं–विराटनगरको टिकट ९ हजार ७८५ रुपैयाँ, काठमाडौं–भरतपुर ४ हजार ६४३, काठमाडौं–भद्रपुर १२ हजार ११२, काठमाडौं–जनकपुर ५ हजार ४७०, काठमाडौं–पोखरा ६ हजार ६३५, र काठमाडौं–नेपालगन्ज १३ हजार १०३ रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, काठमाडौं–धनगढी १७ हजार ५७९, काठमाडौं–सिमरा ३ हजार ९७८, काठमाडौं–भैरहवा ८ हजार ४६१, काठमाडौं–राजविराज ८ हजार २१०, काठमाडौं–सुर्खेत ९ हजार ३०, र काठमाडौं–तुम्लिङ्टार ७ हजार ६३० रुपैयाँ निर्धारण गरिएको छ।
प्राधिकरणले टिकट बुकिङ र बिक्रीमा पारदर्शिता कायम राख्न सबै विमान सेवा प्रदायकलाई निर्देशन दिएको छ। निर्धारित भाडाभन्दा बढी मूल्य लिई टिकट बिक्री गरे कानुनी प्रक्रिया अघि बढाइने र जरिवाना वा अन्य कारबाही हुने चेतावनी पनि दिएको छ।
यस्तो निर्णयले चाडबाडमा यात्रुहरूलाई बढी भाडाबाट बचाउने र पारदर्शिता कायम गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस