२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

सालको पात बेचेर चाडपर्व खर्चको जोहो

शुक्रवार , आश्विन १७, २०८२

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ की कृष्णकुमारी विकले सालको पात बिक्री गरी यस वर्षका चाडपर्वका लागि खर्च जुटाइरहेका छिन् ।

उनले उदयपुरको गाईघाट पुगेर ल्याइएका सालका पात बेचेर खर्च जुटाइरहेकी हुन् । हुन त अरु बेला पनि यो उहाँका लागि आम्दानीको मुख्य स्रोत हो । हरेक हप्ताजसो गाईघाट गएर पात सङ्कलन गर्ने र इटहरीका विभिन्न स्थानमा लाग्ने हटिया बजारमा बिक्री गर्दै आएको विकले बताइन् ।

उनले भनिन्, “अरु बेला पनि यो काम गरिरहेकी छु, तर चाडपर्वलगायत विशेष समयमा बढी बिक्री हुन्छ । अरु समयमा ज्यालामजदुरी कामसमेत गर्छु, तर चाडपर्वको समय आएपछि भदौ महिनादेखि मङ्सिरसम्म यही काम गर्छु । यसबेला पात बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ ।”

धेरैजसो चाडपर्वमा यही पात बेचेरै आफुनो खर्च जुटाउने गरेको बताउँदै विकले एक हप्तामा आठ हजारदेखि रु १० हजारसम्मको पात बिक्री हुने गरेको सुनाइन् ।

सालको पातको माग चाडपर्व, एकादशी, छठपूजालगायत धार्मिक अवसरमा अत्यधिक हुने गर्छ । यसबेला ठेलागाडामा कोला र तरकारी बेच्ने व्यापारीहरूले समेत पात बेच्ने गर्छन् । यसले केही समस्या हुने गरेको पात बचेर खर्च जुटाउनेहरूको गुनासो छ ।

इटहरी उपमहानगरपालिका–७ कि इन्द्रदेवी घिमिरे पनि विगत चार वर्षदेखि सालको पात बेच्दै आएकी छन् । उनले पनि गाईघाटबाट पात सङ्कलन गरेर बिक्री गरिरहेको बताइन् ।

घिमिरेका अनुसार भदौ, असोज र कात्तिक महिनामा पातको बिक्री उच्च हुने भएकाले यसबाट चाडपर्वको खर्च जोहो हुने गरेको छ । “दसैँतिहारको समयमा दैनिक ३० देखि ४५ मुठासम्म पात बिक्री हुने गरेको छ । यसबाट मासिक ३० हजारदेखि ४० हजारभन्दा बढी आम्दानी हुन्छ । सानो मुठा ४० देखि ६० र ठूलो मुठा १०० सम्म बिक्री गरिरहेकी छु”, उनले भनिन् ।

उनीहरू मात्रै होइन, बिना लगानी फुर्सदको सदुपयोग गर्दै पात सङ्कलन र बिक्री गर्दा राम्रो आम्दानी हुने भएपछि इटहरीका अधिकांश महिलाहरूले यस्तै काम गर्न थालेका छन् । पूजापाठ, भोजभत्तेर, मन्दिर तथा घरायसी प्रयोजनका साथै दुनाटपरी बनाउनसमेत प्रयोग हुने भएकाले सहरी क्षेत्रमा समेत पातको माग रहेको यसमा सङ्लग्नहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट