काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले वर्तमान परिस्थितिमा पार्टीले संगठन, संघर्ष, प्रशिक्षण र निर्वाचनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् ।
दशैंलगत्तै प्रदेश अधिवेशनहरू र राष्ट्रिय समितिहरूका बाँकी कार्यहरू सम्पन्न गर्ने, सम्पूर्ण संसदीय निर्वाचन क्षेत्र समन्वय समिति, बुथ समिति गठन एवं परिचालन तथा गठन गर्न बाँकी रहेका गाउँ/वडा, टोल समितिहरू गठन गर्ने कार्यलाई अगाडि बढाइने बस्नेतले बताए ।
त्यस्तै प्रत्येक बुुथ स्तरमा स्वयंसेवक तयार गरी प्रशिक्षण दिने र परिचालन गर्ने, आगामी निर्वाचनलाई ध्यानमा राखेर प्रदेश समिति र जिल्ला समितिहरूले जनपरिचालन र आधारभूत संगठन निर्माण अभियान सञ्चालन गर्ने, पार्टी प्रवेशका कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्ने र पार्टीसँग आबद्ध रहेका जनवर्गीय, पेसागत तथा भातृ संगठनहरूको आवश्यकता अनुसार गठन र परिचालन गर्ने कार्य गरिने बस्नेतको भनाइ छ ।
पार्टीले संविधान संशोधन, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व, पहिचान, राज्यको पुनर्संरचना, पार्टीले उठाउँदै आएका मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिम, दलित, पिछडावर्ग, महिला, अल्पसंख्यक समुदायका मुद्दाहरूलाई जनताको बीचमा लैजाने, जनताका दैनिक जीवनसँग सम्बन्धित स्थानीय समस्याहरू, भ्रष्टाचार, गरिबी, बेरोजगारी, सामाजिक सुरक्षा लगायतका विषयहरू जनताका माँझमा लैजाने भएको छ ।
बस्नेतका अनुसार विगतमा पार्टीले सरकार समक्ष पेश गरेको ६७ बूँदे माँग र प्रस्तावहरुलाई जनता समक्ष लिएर जाने साथै जसपा नेपालको विचार, नीति तथा कार्यक्रमहरूलाई जनजनमा स्थापित गर्न, विचार, गोष्ठी, कोण सभा, आमसभा, प्रदर्शन आदि कार्यक्रमहरू गर्ने/गराउने काममा पार्टी लाग्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न संघर्षरत रहने र आन्दोलनका कार्यक्रमहरु निरन्तर जारी राखिने बताइएको छ ।
जसपा नेपालले प्रदेश समिति, राष्ट्रिय समितिहरू, जिल्ला नगर÷पालिका समितिहरुलाई प्रशिक्षण दिने, प्रशिक्षणका अन्य विषयका साथै निर्वाचन सम्बन्धी विशेष प्रशिक्षणको आयोजना गर्ने निर्णय गरेको छ । भातृ संगठनहरूको लागि छुट्टै प्रशिक्षणको व्यवस्था प्रशिक्षण विभागले गर्ने बताइएको छ ।
जसपा नेपालले निर्वाचन केन्द्रीत कार्यहरुलाई उच्च प्राथमिकतामा राख्ने भएको छ । उम्मेदवारको चयन, चुनाव प्रचारप्रसार, आर्थिक व्यवस्थापन, स्वयं सेवक परिचालन, चुनावी प्रशिक्षण, मतदाता सचेतन कार्यक्रम, मतदाता सूचीमा नाम दर्ता लगायत चुनावसँग सम्बन्धित कार्यक्रमहरू प्रदेश समिति, राष्ट्रिय समितिहरू, जिल्ला समिति, पालिका समितिहरू र सो मातहतका समितिहरूले कार्यक्रम र कार्ययोजना तयार गरी कार्यान्वयन गर्न पार्टीले निर्देशन गरेको बस्नेतको भनाइ छ ।
निर्वाचन क्षेत्र स्तरीय तथ्याङ्क संकलन, विभिन्न पार्टीहरूको स्थितिको विश्लेषण गरी निरन्तर रिपोटीङ्ग गर्ने र पार्टीका उम्मेदवारहरू जित्न सक्ने सम्भावना रहेको क्षेत्रहरूमा बढी ध्यान दिने, शक्ति परिचालन गर्ने र जिताउने काममा पार्टीलाई केन्द्रित गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस