२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड पहिरोका कारण अवरुद्ध

शनिवार , आश्विन १८, २०८२

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोका कारण देशका दुई प्रमुख राजमार्ग नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। यी दुवै सडकखण्डमा शनिबार बिहानदेखि सवारी आवागमन अवरुद्ध भएको हो।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार, शनिबार बिहान करिब २ बजे धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङ खोला नजिक पहिरो खस्दा मुग्लिन–नागढुंगा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। यता, नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला क्षेत्रमा पनि ठूलो पहिरो खसेपछि सवारी साधन चल्न सकेका छैनन्।

पहिरो खसेपछि तत्कालै प्रहरी, स्थानीयबासी र यात्रुहरूको सहयोगमा सडक खुलाउने प्रयास गरिएको थियो। केही समयको प्रयासपछि एकतर्फी सवारी चलाउन मिल्ने गरी बाटो खुलाइएको थियो। तर, पुनः माथिबाट ढुंगा र माटो खस्न थालेपछि सडक दुबैतर्फी रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार, सडक क्षेत्रमा हाल पनि पानी परिरहेको र माथिबाट माटो झर्ने क्रम नरोकिएकोले पहिरो पूर्ण रूपमा हटाउन सकिएको छैन। सडक खुलाउने प्रयास जारी भए पनि मौसम प्रतिकूल भएकाले तत्काल सवारी चल्ने अवस्था नरहेको जनाइएको छ।

सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका यात्रुहरू अलपत्र परेका छन्।

यसअघि पनि बर्सातको समयमा यी क्षेत्रहरूमा बारम्बार पहिरो खसेर सडक अवरुद्ध हुने गरेको छ। भौगोलिक रूपमा जोखिमयुक्त क्षेत्र भएर पनि दीर्घकालीन समाधानका उपायहरू नअपनाइएकाले प्रत्येक वर्ष सास्ती दोहोरिरहने गरेको यात्रीहरूको गुनासो छ।

सडक डिभिजन कार्यालय र प्रहरी प्रशासन दुवै पक्षले आवश्यक जनशक्ति र उपकरण प्रयोग गरी पहिरो हटाउने कार्य तीव्र बनाइएको जानकारी दिएका छन्। तर, मौसममा सुधार नआएसम्म सडक खुल्ने निश्चित समय तोक्न सकिने अवस्था छैन।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट