काठमाडौं । लगातारको वर्षासँगै पहिरो खसेपछि अवरुद्ध भएको मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत जवाङ खोला नजिकको सडक खुलाइएको छ। शनिबार बिहान ५:५५ बजे खसेको पहिरो हटाएपछि अहिले उक्त सडकखण्डमा सवारी आवागमन पुनः सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।
यता, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने तुइन खोलामा बिहानै खसेको पहिरोले गर्दा सडक हाल एकतर्फी मात्र सञ्चालनमा रहेको डिभिजन कार्यालयले जानकारी दिएको छ।
मौसम अझै सुधार नहुँदा नारायणगढ–मुग्लिन सडक क्षेत्रमा लगातार वर्षा भइरहेको र पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रुहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
सडक डिभिजन भरतपुरका अनुसार, जोखिमयुक्त स्थानमा हेभी उपकरणसहितको टोली तयारी अवस्थामा राखिएको छ भने स्थिति अत्यन्त संवेदनशील रहेकोले अत्यावश्यक बाहेकको यात्रा टार्न पनि सवारी चालक तथा यात्रुहरूलाई आग्रह गरिएको छ।
यसअघि शनिबार बिहान २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङ खोलामा पहिरो खसेपछि मुग्लिन–नागढुंगा सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो। त्यसपछि प्रहरी, सडक विभागका प्राविधिक र स्थानीयबासीको सहकार्यमा पहिरो हटाउने कार्य तीव्र बनाइएको थियो।
प्रतिक्रिया दिनुहोस