काठमाडौं । देशभर निरन्तर वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढिरहेका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले मौसम र सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन विभागीय प्रमुखहरुको बैठक बोलाएका छन् ।
मन्त्री घिसिङको सचिवालयका अनुसार, आज शनिबार बिहान ११ बजे सम्बन्धित मन्त्रालयका विभागीय प्रमुखहरूसँग बैठक बोलाएको हो। बैठकमा पछिल्लो मौसमको अवस्था, सडक तथा पूर्वाधारको स्थिति, र आगामी दिनमा संभावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्ने विषयमा छलफल हुने जनाइएको छ।
बैठकमा मन्त्री घिसिङले पहिरो, बाढी, डुबान जस्ता प्राकृतिक प्रकोपहरूबाट जनताको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। सचिवालयका अनुसार, बैठकमार्फत सडक सुरक्षाको अवलोकन, जोखिमयुक्त क्षेत्रको तत्काल पहिचान, आवश्यक मेसिन उपकरण तयारी अवस्थामा राख्ने, र विपद् क्षेत्रमा द्रुत उद्धार व्यवस्था मिलाउने बारेमा विशेष निर्देशन दिने तयारी गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका विभिन्न भूभागमा लगातार पानी परिरहेको छ भने अझै केही दिन वर्षा तीव्र हुने सम्भावना रहेको छ। यस्तो अवस्थामा पहिरो, बाढी र डुबान जस्ता जोखिम बढ्ने चेतावनी दिइएको छ।
सरकारको तयारी
जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने।
पहिरो जाने स्थानहरूमा आवश्यक मेसिन तथा उपकरण तयारी अवस्थामा राख्ने।
अत्यावश्यक बाहेकका यात्रा रोक्न सिफारिस गर्ने।
मुग्लिन–नारायणगढ र मुग्लिन–नागढुंगा सडकखण्डमा पहिरो खसेर सवारी आवागमन अवरुद्ध भएको थियो। यद्यपि मुग्लिन–नागढुंगा सडकखण्ड पुनः सञ्चालनमा आइसकेको भए पनि नारायणगढतर्फको सडक अझै एकतर्फी सञ्चालनमा रहेको छ र पहिरोको जोखिम कायमै छ।
प्रतिक्रिया दिनुहोस