काठमाडौं । पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न वर्तमान सरकारका दुई मन्त्रीहरु आज इलाम जाने तयारीमा छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल इलाम जाने भएका हुन् ।
मौसम अनुकूल रहेमा उनीहरू आजै काठमाडौंबाट झापाको भद्रपुरसम्म नियमित उडान हुँदै पुग्ने र त्यहाँबाट हेलिकप्टरमार्फत इलाम जाने तयारी छ।
असोज १८ गतेदेखि परेको अविरल वर्षाले इलामका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुर्याएको छ। हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ भने धेरै घाइते र वेपत्ता रहेका छन्। उद्धार तथा राहत कार्य जारी रहे पनि अझै विस्तृत तथ्यांक संकलन भइरहेको स्थानीय प्रशासनले जनाएको छ।
प्राकृतिक प्रकोपका कारण राजमार्ग, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनाहरू व्यापक रूपमा क्षतिग्रस्त भएका छन्। पहिरोका कारण सडक अबरुद्ध हुँदा आवतजावतमा समस्या उत्पन्न भएको छ भने प्रभावित बस्तीहरूमा आपतकालीन सहयोग पुर्याउन कठिनाइ भइरहेको छ।
मन्त्रीद्वयको निरीक्षणपछि राहत, पुनर्निर्माण र जोखिम न्यूनीकरणका विषयमा औपचारिक निर्णय प्रक्रिया अघि बढ्ने सरकारी स्रोतले जनाएको छ। स्थानीय निकाय, सुरक्षी निकाय र विपद् व्यवस्थापन टोलीहरूलाई संघीय सरकारको समन्वयमा परिचालन गरिएका छन्।
प्रतिक्रिया दिनुहोस