२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

सडक अवरुद्ध हुँदा आपतकालीन अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती

सोमवार , आश्विन २०, २०८२

मोरङ । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति पुर्याएको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती बढेकोे छ । मोरङ जिल्लामा मात्रै २५-३० परिवार विस्थापित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम समेत उच्च बनेको छ । निर्देशक बस्नेतले भने, “मौसम विज्ञान विभागको पूर्व जानकारी पाएपछि दसैँं सुरु हुनुअघि नै हामीले सबै अस्पताल र स्वास्थ्य संस्थालाई सतर्क रहन निर्देशन दिएका थियौँ । कर्मचारीलाई आलोपालो खटाइएको छ र आवश्यक औषधि तथा सामग्रीको अग्रीम तयारी गरिएको छ ।”

इलाममा सडक अवरुद्ध हुँदा उपचारमा कठिनाइ भएको उल्लेख गर्दै उनले भने, “इलामतर्फ सडकसम्पर्क अवरुद्ध छ । त्यसैले स्थानीय स्वास्थ्य संस्थाले प्राथमिक उपचार गरिरहेका छन् । तर जटिल उपचारलाई हेलिकप्टरमार्फत इटहरी ल्याएर उपचार गरिएको छ । आइतबार मात्रै प्रसूति पीडामा रहेकी एक महिलालाई हेलिकप्टरमार्फत ल्याएर सुरक्षित रूपमा प्रसूति गराइएको छ ।”

निर्देशक बस्नेतका अनुसार आपतकालीन अवस्थामा स्वास्थ्य सेवा अवरुद्ध नहोस् भनेर प्रदेशभरका द्रुत प्रतिक्रिया टोली सक्रिय अवस्थामा छन् । सङ्घीय तथा प्रदेशस्तरीय स्वास्थ्य क्लस्टरसँग निरन्तर समन्वय भइरहेको छ ।

उनले भने, “सोमबार बिहान ८ बजे प्रदेशस्तरीय बैठक बोलाइएको छ । त्यसमा १४ वटै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख, अस्पतालका प्रतिनिधि, आपूर्ति व्यवस्थापन केन्द्र, जनस्वास्थ्य प्रयोगशालाका प्रमुखसहित बृहत छलफल हुनेछ । बैठकमा मन्त्री र सचिवसमेत सहभागी हुनुहुनेछ ।”

स्वास्थ्य सेवामा अवरोध नहोस् भनेर स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा खटाइए पनि सडक अवरुद्ध हुँदा उपचारमा चुनौती कायमै रहेको उनले स्पष्ट पारे । उनले भने,“बिरामीलाई सदरमुकाम ल्याउन र मृतकको शव परीक्षण गर्न गाह्रो भइरहेको छ । तर कर्मचारीलाई सम्भव भएसम्म खटाइएको छ ।”

प्रदेश विपद् व्यवस्थापन समितिसगको निरन्तर समन्वयमा औषधि आपूर्ति, शव व्यवस्थापन, राहत वितरणदेखि रोग रोकथामसम्मका विषय प्राथमिकताका साथ छलफल भइरहेको निर्देशक बस्नेतले जानकारी दिए ।

यसैबीच, कोशी अस्पतालका फिजिसियन डा रोशन खड्काले बाढीपछि सङ्क्रामक रोग फैलिने जोखिम हुने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताए । उनका अनुसार झाडापखाला, डायरिया, हैजा जस्ता रोग फैलिनसक्ने सम्भावना बढी छ । डा खड्काले प्रभावित परिवारलगायत सबैलाई उमालेको पानी पिउन, सरसफाइमा ध्यान दिन र सुरक्षित खाना मात्र सेवन गर्न आग्रह गरेका छन् ।

यो समयमा पानीजन्य रोग मात्र होइन, लामखुट्टे र भुसुनाबाट सरुवा हुने रोग देखिनसक्ने खतरा पनि उत्तिकै उच्च छ, डा. खड्का भन्छन्, “हिजोदेखि नै पानीमा भिजेका कारण रुघाखोकी र ज्वरोका बिरामी अस्पताल आउन थालेका छन् । त्यसैले आवश्यक कामबाहेक घरबाहिर ननिस्कनु बुद्धिमानी हुन्छ, ।”

स्वास्थ्य समस्या देखिए आफैंँले औषधि सेवन नगरी तत्काल नजिकैको स्वास्थ्य संस्थामा जान आग्रह गर्दै उनले भने, “आफुखुसी औषधि सेवनले जटिलता बढाउन सक्छ, त्यसैले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्य सेवा लिन ढिला गर्नुहुदैन ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट