काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले देशभर बढिरहेको ‘छिनछिनमा बत्ती जाने’ समस्याको तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन्।
मन्त्री घिसिङले सोमबार साँझ काठमाडौंको स्यूचाटारस्थित विद्युत् भार प्रेषण केन्द्रको आकस्मिक अनुगमन गरी प्राधिकरणका अधिकारीलाई समस्या समाधानलाई उच्च प्राथमिकतामा राखी काम गर्न आदेश दिएका हुन्।
देशका विभिन्न स्थानबाट विद्युत् आपूर्तिमा अवरोध भएको गुनासो बढेपछि मन्त्री घिसिङ स्वयं अनुगमनमा पुगेका थिए। उनले देशभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको अवस्था, ग्रिड सञ्चालन, विद्युत् माग तथा आपूर्ति व्यवस्थापन, निर्यात र बाढीपहिरोले क्षति पुर्याएका आयोजनाबारे जानकारी लिएका थिए।
पूर्व कार्यकारी निर्देशकसमेत रहेका मन्त्री घिसिङले विद्युत् प्रणालीलाई भरपर्दो, गुणस्तरीय र आधुनिक बनाउन आवश्यक नीतिगत तथा प्रविधिक सुधारका उपाय तत्काल अघि बढाउन निर्देशन दिए।
उनले बाढीपहिरोले क्षति पुर्याएका संरचनाको मर्मत गरी तत्काल विद्युत् सेवा सञ्चालनमा ल्याउन, मर्स्याङ्दी करिडोर २२० केभी र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माणमा विशेष ध्यान दिन तथा आगामी हिउँदयामका लागि विद्युत् आपूर्ति व्यवस्थापनमा जुट्न पनि आदेश दिएका छन्।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाल र केन्द्रका निर्देशक चन्दन कुमार घोषले मन्त्रीलाई विद्युत् उत्पादन, माग, आपूर्ति र प्रणाली सञ्चालनको अवस्थाबारे जानकारी दिएका थिए। कार्यकारी निर्देशक सिलवालले क्षतिग्रस्त संरचनाको मर्मतका लागि प्राविधिक टोली तयारी अवस्थामा रहेको र सुधार कार्य अघि बढाइएको बताए।
प्रतिक्रिया दिनुहोस