मुस्ताङ । मुस्ताङमा यो यामकै पहिलो हिमपात भएको छ । उपल्लो मुस्ताङको कोरलानाका, लोमान्थाङ गाउँपालिकासहित मुक्तिनाथ क्षेत्रमा आज बिहानदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ क्षेत्रसहित उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका उच्च लेकहरूमा वर्षासहित हिमपात भएको छ ।
त्यसैगरी, मुक्तिनाथ क्षेत्रमा हिउँ परेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए । मुक्तिनाथमा बिहानैबाट निरन्तर हिउँ परिरहेकाले मन्दिरमा पुग्ने दर्शनार्थीलाई समस्या परेको उनले जानकारी दिए ।
“मुक्तिनाथ क्षेत्रमा बाक्लो हिउँ पर्ने क्रम जारी छ, हिउँ पाँच–छ इन्च जति जमेको अवस्था छ”, उनले भने, “जमिन तातो भएकाले जम्न सकेको छैन, यही रफ्तारमा हिउँ पर्ने क्रम केही भएमा दुई फिटसम्म हिउँ जम्छ ।”
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले लोघेकर दामोदरकुण्डको उच्चलेकमा हिमपात भइरहेको र बस्ती नजिक वर्षासँगै आंशिक हिमपात भएको बताए । “यस वर्ष कात्तिकमै हिउँ पर्यो, यहाँ दुई–तीनवर्षसम्म हिउँ पर्न सकिरहेको थिएन”, अध्यक्ष विष्टले भने, “हिउँ पर्नु किसानका लागि निकै राम्रो पक्ष हो, यसले किसानले लगाएका अन्नबाली उत्पादनमा महत्त्वपूर्ण टेवा पुर्याउँदछ ।”
यसैगरी वारागुङ मुक्तिक्षेत्रको खिङ्गा, झोङ, छेङ्गुर, फल्याकलगायत उच्च स्थानका गाउँमा पनि बाक्लो हिउँ परेको वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । हिउँ परेसँगै चिसो अत्यधिक बढेकाले स्थानीय जनजीवनमा चिसोको प्रभाव पर्ने उनले बताए ।
यो यामको कात्तिकमै हिउँ परेकाले स्याउलगायत अन्नबालीलाई फाइदा पुगेको वडाध्यक्ष गुरुङले बताए । हिउँले खेतीयोग्य जमिनको भित्री तहसम्म सिञ्चित गर्ने भएकाले हिउँदयामको किसानका लागि बरदान सावित हुने वडाध्यक्ष उनको भनाइ छ ।
कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालयले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीदेखि माथि मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ । उक्त सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीहरूलाई यस्तो आग्रह गरिएको हो ।
जोमसोम–मुक्तिनाथ सडकखण्डअन्तर्गत कागबेनीदेखी साँघुरो र घुम्ती मोड भएको कालोपत्र सडकमा बाक्लो हिउँ जमेका कारण सवारीसाधन लिएर मुक्तिनाथको यात्रा नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।
कागबेनी–मुक्तिनाथ सडकखण्डको कालोभिर, खिङ्गा, झारकोटलगायत स्थानका सडकमा बाक्लो हिउँ जमेकाले सवारीसाधन नलैजान यात्रा वर्गलाई अनुरोध गरिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस