विराटनगर । संसदीय पत्रकार मञ्च कोशी प्रदेशको आयोजनामा विराटनगरका विद्यार्थीहरूसँग तथ्य, मिथ्या सूचना र भ्रामक समाचारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । पछिल्ला दिनमा सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिने भ्रामक सामग्री र गलत सूचनाको सत्यता परीक्षण गर्न विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिन कार्यक्रम आयोजना गरिएको हो ।
विराटनगर–६ स्थित एभरेस्ट कलेजमा आयोजित कार्यक्रममा ३० जना विद्यार्थी सहभागी थिए । जेनजी आन्दोलनको क्रममा सामाजिक सञ्जालमा प्रसारित विभिन्न समाचार, भिडियो र पोस्टहरूका कारण युवापुस्तामा देखिएको अन्योल हटाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मञ्चका अध्यक्ष कुमार लुइँटेलले बताए ।
कार्यक्रममा सञ्चार विज्ञ सरोज कार्कीले सही र मिथ्या सूचनाको भिन्नता, त्यसबाट उत्पन्न हुने प्रभाव र तथ्य परीक्षणका व्यावहारिक उपायबारे जानकारी दिए । उनले अन्तर्राष्ट्रिय र स्वदेशी उदाहरण प्रस्तुत गर्दै सामाजिक सञ्जालमा फैलिने समाचार वा सामग्रीको सत्यता कसरी प्रविधिमार्फत पुष्टि गर्न सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूलाई जानकारी गराए ।

कार्कीले भने, “प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै सूचना व्यवस्थापन चुनौतीपूर्ण बनेको छ, तर प्रविधिकै सहायताले सत्यता परीक्षण सम्भव छ ।”
त्यस्तै, कोशी प्रदेश सभाका सूचना अधिकारी निरोज ढकालले सभाले सूचना सम्प्रेषणका लागि अपनाएका माध्यम र प्रविधिहरूबारे विद्यार्थीलाई जानकारी गराएका थिए । उनले खुला संसदको अवधारणा अन्तर्गत प्रदेश सभाले मोबाइल एप, वेबसाइट, यूट्युब च्यानल र क्युआर कोडमार्फत जनतालाई सहज र पारदर्शी जानकारी उपलब्ध गराइरहेको बताए ।
ढकालका अनुसार, जेनजी आन्दोलनपछि परिवर्तन भएको परिस्थितिमा युवाहरूलाई संसदका गतिविधिमा जोड्ने र सही सूचना प्रसारमा उनीहरूको सहभागिता बढाउने योजना सभाले अघि सारेको छ ।
उनले थपे, “संघीयता र प्रदेश संरचना लागू भएपछि सभाले युवा तथा विद्यार्थीहरूसँग संवाद, छलफल र व्यवहारिक प्रशिक्षणका कार्यक्रमहरू स्थानीय तहसम्म विस्तार गरेको छ ।” सभामुख, उपसभामुख, सचिव र अन्य कर्मचारीहरू समेत प्रदेश कानुन कार्यान्वयन र खुला संसदबारे जनस्तरमा पुग्ने कार्य गर्दै आएको उनले जानकारी दिए ।
एभरेस्ट कलेजका भाइस–प्रिन्सिपल टिएन भण्डारीले पत्रकार, प्रदेश सभा सचिवालय र सञ्चार विज्ञहरूको संयुक्त टोलीले चलाएको कार्यक्रम अत्यन्तै ज्ञानवर्धक रहेको बताए । उनका अनुसार, “मिथ्या सूचना र भ्रामक समाचारबारे विद्यार्थीमा रहेको अन्योल हटाउन यस्ता कार्यक्रमहरू प्रभावकारी र आवश्यक छन् ।”

कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन् । विद्यार्थी आकाश श्रेष्ठले आफू पहिलो पटक यस्ता कार्यक्रममा सहभागी भएको बताउँदै अबदेखि सामाजिक सञ्जालमा आएका सामग्रीको सत्यता परीक्षण गर्न सक्ने आत्मविश्वास प्राप्त भएको बताए । अर्की विद्यार्थी कृपा पोखरेलले समाचार, भिडियो र फोटोहरूको सत्यता परीक्षणका नयाँ तरिका सिक्न पाएको बताइन् ।
संसदीय पत्रकार मञ्चले यसअघि पनि युवाहरूलाई लक्षित गरी मिथ्या सूचना र सञ्चार साक्षरतासम्बन्धी यस्तै अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस