काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु फर्स्यौटको लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुपर्नेमा जोड दिएको छ ।
सिहदरबारमा शुक्रबार बसेको समिति बैठकमा बेरुजुका विषयमा देखिएका समस्याका बारेमा छलफल पछि समिति सभापति भरतबहादुर खड्काले बेरुजु न्यूनिकरण गर्ने बिषयमा समितिले आवश्यक सहयोग गर्ने भन्दै बेरुजु फर्स्यौटको लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्नुपर्ने बताएका हुन् ।
उनले बेरुजु फर्स्यौटका लागि असुलउपर गर्नुपर्ने सवालमा पछि हट्न नहुने धारणा राखे । यसका लागि आवश्यक परे कानूनी प्रक्रिया समेत सुरु गर्न सकिने उनको भनाइ छ ।
बैठकमा बिभिन्न मन्त्रालयका सचिवहरुले आफ्ना मन्त्रालयको बेरुजु घटाउने योजनाका बारेमा जानकारी दिएका थिए । बैठकमा सदस्यहरुले भने करका दर हेरफेरका बिषयमा अर्थमन्त्रीको जवाफका बिषयमा प्रश्न उठाएका थिए । समिति सदस्य बर्षमान पुनले यसअघिको नजिरलाई देखाउदै कर संशोधन गरे भन्ने अर्थमन्त्रीको जवाफप्रति आपत्ति जनाए । यसबारेमा समिति गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
समिति सदस्य खगेन्द्र सुनारले अर्थमन्त्रीले करका बिषयमा सदनमा जानकारी गराइसकेको अवस्थामा यसलाई अनावश्यक रुपमा उछालिएको तर्क गरे ।
अर्थमन्त्रीको बिषयमा बिपक्षी सांसद र रास्वपा सांसदबीच सवालजवाफ हुने देखिएपछि सभापति खड्काले अर्थमन्त्रीका बिषयमा उठेका प्रश्नको अन्य सत्तापक्ष सांसदहरुले जवाफ दिनु उचित नभएको बताए ।
प्रतिक्रिया दिनुहोस