काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै गएको छ। सोही मागलाई बलियो बनाउन विशेष महाधिवेशन समर्थक समूहले आज काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे विशेष भेला आह्वान गरेको छ।
यस भेलामार्फत विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिमाथि दबाब सिर्जना गर्ने तयारी गरिएको छ। कांग्रेस केन्द्रीय समिति बैठक भने भोलि बिहीबारका लागि तोकिएको छ। विशेष महाधिवेशनको माग सहित हस्ताक्षर अभियानमा संलग्न ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरू भेलामा सहभागी हुने बताइएको छ।
असोज २८ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअघि गर्ने कि पछि भन्ने विषयमा तीव्र मतभेद देखिएको छ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचनअघि नै नियमित महाधिवेशन अथवा आवश्यकता परे विशेष महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन्। तर सभापति शेरबहादुर देउवा पक्ष भने चुनावअघि महाधिवेशन सम्भव नभएको तर्क गर्दै आएको छ।
असोज २९ गते नै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन मागसहित केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाइसकेका छन्।
नेता गुरुराज घिमिरेको समन्वयमा हुने भनिएको आजको भेलामा महामन्त्रीद्वय थापा र शर्मा भने उपस्थिति नजनाउने बुझिएको छ। कार्यक्रममा नरहरि आचार्य, महेश आचार्य, तारानाथ रानाभाट, बलदेव शर्मा मजगैयाँ लगायतले सम्बोधन गर्ने तयारी छ।
यसअघि मंगलबार विशेष महाधिवेशन पक्षधर समूहले काठमाडौं उपत्यकाका नेता, बागमती प्रदेशका जिल्ला तथा क्षेत्रीय सभापतिहरू, साथै भ्रातृ तथा शुभेच्छुक संघ–संस्थाका प्रतिनिधिहरूसँग छुट्टाछुट्टै छलफल गरेको थियो।
प्रतिक्रिया दिनुहोस