विराटनगर । सेवा प्रवाह सञ्चालनका लागि कोशी प्रदेश सरकारको पहलमा शुक्रवार दुहबी नगरपालिकामा करिब १८ लाख बराबरको ल्यापटप, कम्प्युटर , दराज लगायतका ११ प्रकारका सामाग्री प्रदान गरिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रवार नगरप्रमुख वेद नारायण गल गच्छदारलाई एक समारोह बीच सामान हस्तान्तरण गरेका हुन् ।
गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरुलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत यो सहयोग गरिएको हो।
कोशी प्रदेशका ३० पालिकामा ६ करोड १८ लाख बराबरका सामग्री हस्तान्तरण हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत दुहबीबाट आज यो सुरुवात गरिएको हो। कोशी प्रदेशका क्षतिग्रस्त ४०१ वडामध्ये १५४ वडामा सेवा चुस्त दुरुस्त पार्नको लागि यो सामग्री प्रदान गरिएको हो। जेनजि आन्दोलनमा कोसी प्रदेशका १३७ पालिका मध्ये ३७ पालिकामा क्षती पुगेको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशको सरकारलाई आएको सहयोग रकमलाई जनताको महत्वपूर्ण सेवा प्रवाह गर्ने कार्यालयहरूलाई वितरण गरिएको बताए । कार्यालय पुनः स्थापना गर्ने लक्ष्य अनुरुप यो कामलाई तीव्र रुपमा अगाडि बढाइने मुख्यमन्त्री कार्कीले बताए ।
जेनजी आन्दोलनपछि पूर्ण वा आंशिक क्षति पुगेपछि स्थानीय तहको सेवा प्रवाह छिटो र छरितो बनाउन प्रदेश सरकारले ठूलो मात्रामा सामग्री वितरण गरेकाले यसले आम नागरिकमा ठूलो राहत दिने प्रदेश सरकारको विश्वास छ।

यस कार्यक्रमअन्तर्गत कम्प्युटर, ल्यापटप, प्रिन्टर, यूपीएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्विच, औषधि तथा प्लास्टिक कुर्सी सहितका सामग्री कुल ६ करोड १८ लाख रुपैयाँ बराबरका रहेका छन् ।
यो कार्य स्वीस सरकार बिकास सहयोग कार्यक्रम अन्तर्गत मार्फत सहयोग गरिएको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष पहल तथा सक्रिय प्रयत्नमा प्रदेश सरकार र विकास साझेदारी निकायबीच समन्वय गरी सामग्री व्यवस्थापन र वितरण गरिएको मन्त्रिपरिषद्को कार्यालय कोसीले जानकारी दिएको छ।
मुख्यमन्त्री कार्कीले जनताको काम वडाबाट नै हुने भएकाले स्थानीय तहलाई प्राथमिकतामा राखेर सेवा पुनर्स्थापना र क्षमता अभिवृद्धिको अभियान अघि बढाइएको उल्लेख गरे । उनका अनुसार क्षतिग्रस्त वडामा प्रशासनिक, प्राविधिक र स्वास्थ्य सेवा सहज बनाउँदै पुनर्निर्माण तथा पुनःसञ्चालनलाई गतिशील बनाउन यो सहयोग महत्वपूर्ण हुनेछ।
मुख्यमन्त्री कार्कीले १० दिनभित्र यो सहयोग वितरण गरिसक्ने जानकारी दिँदै स्थानीय तह र प्रदेश सरकारका ध्वस्त संरचनाहरुलाई पनि पुनर्निर्माणका लागि पहल र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गर्दै विकास निर्माणलाई आधार मानेर काम अघि बढाउने नीति लिएको छ। उक्त सामग्री हस्तान्तरणले प्रभावित वडाहरूमा सेवा पुनःस्थापना र जनजीविकामा राहत पुर्याउने अपेक्षा गरिएको छ। सामाग्री हस्तान्तरण कार्यक्रम बोल्दै नगर प्रमूख वेद नारायण गच्छदारले प्रदेस सरकारलाई धन्यवाद दिए ।
गच्छदारले दुहबी नगरपालिकामा मात्रै करिब ४ करोड ६५ लाख बराबरको क्षति भएको जानकारी दिए । प्रदेश सरकारका मुख्यमन्त्री कार्यालयमा आएर सामान हस्तान्तरण गरेर हौसला प्रदान गरेकोमा गच्छदारले आभार व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस